arrow

पर्साका ६२ मतदानस्थल 'अतिसंवेदनशील' को सूचीमा

पर्साका चार सय ४१ केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
election-2082.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा समिति पर्साले सुरक्षा तयारीलाई तीव्र पारेको छ। जिल्लाभर रहेका कुल एक सय ६७ मतदानस्थलमध्ये ६२ वटालाई अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको छ। 

अन्य मतदानस्थलहरूमध्ये ८५ वटालाई संवेदनशील र २० वटालाई कम संवेदनशीलको सूचीमा वर्गीकरण गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको र विभिन्न मतदानस्थल तथा केन्द्रहरूको नियमित निरीक्षण र समन्वय भइरहेको जानकारी दिएका छन्।

निर्वाचनको तयारीका क्रममा गत माघ २ गते नै जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्लाभर कुल चार सय ४१ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं १ मा ३४ मतदानस्थल र १०३ केन्द्र, क्षेत्र नं २ मा ३८ मतदानस्थल र ११० केन्द्र तथा क्षेत्र नं ३ र ४ मा क्रमशः ४७ र ४८ मतदानस्थलसहित समान ११४/११४ मतदान केन्द्र रहेका छन्।

पर्सा जिल्लामा यसपटक कुल तीन लाख ७६ हजार पाँच सय १३ मतदाता रहेका छन्। यसमा पुरुष मतदाताको सङ्ख्या दुई लाख १२ हजार ७७ छ भने महिला मतदाता एक लाख ६४ हजार चार सय २१ र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता १५ जना रहेका छन्। जिल्ला प्रशासनले निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सुरक्षा निकायहरूसँग निरन्तर छलफल र कार्ययोजना कार्यान्वयन गरिरहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ