जनक शिक्षामा २४ सै घण्टा मतपत्र छपाइ: एक करोड बढी मतपत्र तयार, प्याकिङ कार्य पनि धमाधम
समानुपातिकतर्फका ५० प्रतिशत मतपत्र छापिए, १० लाख बढी आयोगलाई हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ६ मंगलबार
687
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले तीव्र रूपमा काम अघि बढाएको छ। केन्द्रका अनुसार हालसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न भएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ कुल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छाप्नुपर्ने लक्ष्य निर्धारण गरेकोमा केन्द्रले हालसम्म ५० प्रतिशत काम पूरा गरिसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार थान मतपत्र छपाइ भएको छ। केन्द्रले छपाइ भएकामध्ये १० लाख ९८ हजार २०० थान मतपत्र आयोगलाई बुझाइसकेको छ।
छपाइसँगै मतपत्रको प्याकिङ कार्य पनि अघि बढेको छ। पछिल्लो विवरण अनुसार हालसम्म सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने बाँकी १२ हजार ९८९ बाकस प्याकिङ गर्ने क्रममा रहेको छ। पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४३१ बाकस प्याकिङ गरिएको केन्द्रले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्रै छाप्न सुरु गरिनेछ। आज (माघ ६ गते) उम्मेदवारी मनोनयनको प्रक्रिया चलिरहेकाले दाबी विरोध र नाम फिर्ताको प्रक्रिया सकिएर उम्मेदवारले चुनाव चिह्न पाएलगत्तै प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले स्पष्ट पारेको छ।