काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज देशभर उत्साहका साथ मनोनयन दर्ता भइरहेको छ। यसपटकको निर्वाचनमा मुलुकका चार जना पूर्वप्रधानमन्त्रीहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् भने एक प्रभावशाली पूर्वप्रधानमन्त्रीले भने चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै क्षेत्र झापा-५ बाट उम्मेदवार बन्दैछन्। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटक गोरखा छाडेर रुकुम पूर्व-१ बाट र सहसंयोजक माधवकुमार नेपाल रौतहट-१ बाट चुनावी प्रतिस्पर्धामा होमिएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई पनि यसपटक गोरखा-२ बाट पुनः उम्मेदवार बन्ने निश्चित भएको छ।
यस निर्वाचनको सबैभन्दा ठुलो सरप्राइज नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति बनेको छ। विसं २०४८ देखि लगातार डडेल्धुराबाट अपराजित रहँदै आएका देउवा पार्टीको आन्तरिक महाधिवेशन र विशेष परिस्थितिका कारण यसपटक उम्मेदवार बनेनन्। उनको अनुपस्थितिले डडेल्धुराको चुनावी समीकरणलाई मात्र नभई राष्ट्रिय राजनीतिलाई समेत तरंगित बनाएको छ।