पोखराको चुनावी सरगर्मी: एमाले र कांग्रेसलाई रास्वपाको चुनौती, उम्मेदवारी दर्तापछि प्रचारको चटारो
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
779
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएसँगै कास्कीका राजनीतिक दलहरू औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा १८ वटा राजनीतिक दलका उम्मेदवार र ६ जना स्वतन्त्र गरी कुल ४९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ। उम्मेदवारी दर्ता लगत्तै प्रमुख राजनीतिक शक्तिहरूले आ-आफ्नो रणनीति अनुसार चुनाव लक्षित कार्यक्रमहरू सुरु गरिसकेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वडा तहबाटै चुनाव केन्द्रित भेटघाट र छलफललाई तीव्रता दिएको छ। एमालेले कास्की क्षेत्र नम्बर १ मा बैनबहादुर अधिकारी क्षेत्री, क्षेत्र नम्बर २ मा रश्मी आचार्य र क्षेत्र नम्बर ३ मा दामोदर बैरागीलाई उम्मेदवार बनाएर प्रचारप्रसार सुरु गरेको छ।
त्यस्तै नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्तापछि चुनाव केन्द्रित आन्तरिक छलफललाई सघन बनाएको छ। कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बाँस्तोला र क्षेत्र नम्बर ३ मा मनोज गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले चुनावको विशेष तयारीका लागि आज उम्मेदवार र जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ। सो पार्टीका जिल्ला संयोजक विश्वप्रकाश लामिछानेका अनुसार भोलिदेखि तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारी र उम्मेदवारहरू घरदैलो अभियानमा निस्कने छन्।
नेकपाले क्षेत्र नम्बर १ मा राजकाजी गुरुङ, २ मा हेमबहादुर थापा पराजुली र ३ मा गोपाल गिरीलाई प्रत्याशी बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि चुनावी योजना बुन्न आज पोखरामा बैठक बोलाएको छ। रास्वपाले क्षेत्र नम्बर १ मा खड्गराज पौडेल, २ मा उत्तमप्रसाद पौडेल र ३ मा बिना गुरुङलाई चुनावी मैदानमा उतारेको छ।