arrow

राजन केसीको उत्तराधिकारी बन्न हिमाल कार्कीको दौड

काठमाडौँ १० मा प्रदीप विष्ट बाहेक सबै उम्मेदवार पहिलोपटक मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ७ बुधबार
rajendra-kc-rajan-congress.jpg

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं १० मा यसपटक नयाँ अनुहारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरी नगरपालिकाका केही वडाहरू समेटिएको यस क्षेत्रमा विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिएका १३ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रदीप विष्टबाहेक अन्य सबै प्रमुख प्रतिस्पर्धीहरू प्रत्यक्ष निर्वाचनमा पहिलोपटक उम्मेदवार बनेका हुन्।

यसअघि लगातार तीनपटक निर्वाचन जितेका निवर्तमान सांसद राजेन्द्रकुमार केसी (राजन केसी) ले यसपटक युवालाई अवसर दिने भन्दै उम्मेदवार नबन्ने घोषणा गरेपछि नेपाली कांग्रेसले स्थानीय कार्यकर्ता एवं जिल्ला सदस्य हिमाल कार्कीलाई चुनावी मैदानमा उतारेको छ। कार्कीको उम्मेदवारीले कांग्रेसको विरासत जोगाउने चुनौती उनकै काँधमा सुम्पिएको छ।

यस्तै नेकपा (एमाले) ले यसपटक अनुभवी मजदुर नेता एवं केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई उम्मेदवार बनाएको छ। श्रेष्ठ यसअघि समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेको भए तापनि प्रत्यक्षतर्फ भने यो उनको पहिलो उम्मेदवारी हो।

त्यसैगरी भर्खरै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले रुपा महर्जनलाई पहिलोपटक उम्मेदवार बनाएर नयाँ शक्ति प्रदर्शनको तयारी गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट यस क्षेत्रका १३ उम्मेदवारमध्ये अघिल्लो निर्वाचनको प्रत्यक्ष अनुभव भएका एक्ला उम्मेदवारका रूपमा देखिएका छन्।

काठमाडौँ क्षेत्र नं १० मा सधैँजसो कांग्रेस र वामपन्थी दलहरूबीच कडा प्रतिस्पर्धा हुने गरेकोमा यसपटक पुराना हस्तीहरूको अनुपस्थिति र नयाँ प्रभावशाली अनुहारहरूको उपस्थितिले चुनावी नतिजा अझ अनपेक्षित र रोचक हुने विश्लेषकहरूको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ