काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ बडहराकी जानकी चौधरीले 'बधिया' भालेपालनबाट मनग्ये आम्दानी गर्दै आएकी छन्। विगत आठ वर्षदेखि व्यावसायिक रूपमा यो पेसामा आबद्ध जानकीको दैनिकी अहिले भालेको स्याहारसुसार र हेरचाहमै बित्ने गरेको छ।
स्थानीय जातको कुखुराको भालेलाई सानैमा 'अप्रेसन' गरी अण्डकोष निकालेर 'बधिया' बनाइने जानकीले बताइन्। यसरी तयार पारिएको भालेको मासु सामान्य भालेको तुलनामा बढी स्वादिलो र नरम हुने भएकाले बजारमा यसको माग निकै उच्च छ। जानकी आफैँले यो विधि सिकेर 'दङ्गाली पोल्ट्री फार्म' मार्फत व्यवसायलाई अगाडि बढाएकी छन्।
अहिले उनको फार्ममा ६० भन्दा बढी बधिया भाले छन्। एउटा भालेको मूल्य कम्तीमा ३ हजार रुपैयाँ पर्ने र वार्षिक ४ देखि ६ लाख रुपैयाँसम्मको कारोबार हुने उनले जानकारी दिइन्। खर्च कटाएर वार्षिक झन्डै ३ लाख रुपैयाँसम्म बचत हुने गरेको उनको अनुभव छ। उनले स्थानीय किसानबाट साना भाले किनेर ल्याउने र चार महिना पुगेपछि ती भालेलाई बधिया बनाएर हुर्काउने गरेकी छन्।
खुला ठाउँ र कम लगानीमा गर्न सकिने यो व्यवसायमा जानकीलाई श्रीमान्को पनि पूर्ण साथ मिलेको छ। उनी भन्छिन्, "बिक्रीका लागि कुनै समस्या छैन, चाडपर्वका बेला त झन् माग धान्नै गाह्रो हुन्छ।" उनले उत्पादन गरेका भालेहरू दाङमा मात्र नभई काठमाडौँ र पोखरा जस्ता ठूला सहरसम्म पुग्ने गरेका छन्।
जानकी जस्तै दाङका अन्य धेरै किसानहरू पनि पछिल्लो समय बधिया भालेपालनतर्फ आकर्षित भएका छन्। बजारमा उच्च माग र उचित मूल्य पाइने भएपछि 'बधिया भाले' अहिले दाङको एउटा छुट्टै पहिचानका रूपमा स्थापित हुन थालेको छ।