चट्गाउँ । दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटबलको पहिलो खेलमा नेपालको मनाङ मस्र्याङ्दी क्लवले आइतबार दिउँसो बंगलादेशी क्लव मोहमोदेन स्पोर्टिङ क्लवसंग खेल्दैछ ।
शनिबारदेखि सुरु भएको प्रतियोगितामा मनाङ विजयी सुरुवात गर्नका लागि आतुर भएको छ । कप्तान अनिल गुरुङले टिम तयार रहेको बताएका छन् । केही महिनादेखि घरेलु प्रतियोगितामा सहभागीता जनाएको र एक हप्तादेखि विशेष प्रशिक्षणमा रहेकाले टिम सेट भएको गुरुङले बताए ।
मनाङ समूह बी मा रहेको छ । खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेपछि मोहम्मद अजिज रंगशालामा हुनेछ । आइतबार नै समूह बी को अर्को खेलमा आयोजक चितगोङ अवहनी लिमिटेड र शाहिन आस्मायी बीच साँझ ७ बजे खेल हुनेछ ।
घरेलु फुटबलमा यस सिजन निकै नै उत्कृष्ट प्रदर्शन गरिरहेका मनाङ पहिलो खेलमा सकरात्मक नतिजा निकाल्ने लक्ष्यसहित मैदान ओर्लने पक्का छ । आठ राष्ट्रिय खेलाडी सम्मिलित मनाङले पहिलो खेलमा मोहमोदेनलाई पराजित गर्दै प्रतियोगिताको सुखद शुरुवात गर्ने अभियानमा हुनेछ ।
मनाङले मोफसलका पछिल्ला ५ खेलमध्ये तीन खेलमा उपाधि जितेको थियो । दुईपटक उपाधि जित्नबाट बञ्चित भएको थियो । खप्तड गोल्डकप, आहा रारा गोल्डकपपछि मनाङले दुई साताअघि झापा गोल्डकप जितेको थियो ।
यता मोहमोदेन अवहनी लिमिटेडका मुख्य प्रशिक्षक काजी जोशीमुद्दिन अहमेद जोशीले नेपाली क्लब मनाङसँगको खेल प्रतिस्पर्धात्मक हुने बताए । मोहमोदेन बंगलादेश प्रिमियर लिगको १० औं स्थानको क्लब हो ।