मुस्ताङमा चुनावी सुरक्षा सामान्य, हिमपात भने मुख्य चुनौती: साङ्ता जाने बाटो अझै हिउँले ठप्प
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २१ बुधबार
707
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ। जिल्लाका पाँचवटै स्थानीय तहका मतदान केन्द्रहरू सुरक्षाका दृष्टिकोणले सामान्य रहे पनि सम्भावित हिमपातले मतदान कार्यक्रमलाई असर पुर्याउन सक्ने आकलन गरिएको छ।
हिमपात भएको अवस्थामा मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन हुने भएकाले स्थानीय प्रशासनले पूर्वतयारी थालेको छ। विशेष गरी वारागुङ मुक्तिक्षेत्र–५ को साङ्ता मतदान केन्द्र जाने मुस्ताङ–डोल्पा सडकखण्ड एक महिनादेखि बाक्लो हिउँका कारण अवरुद्ध छ, जसलाई निर्वाचन अघि डोजर लगाएर खुलाउने योजना प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सुनाएकी छन्।
मुस्ताङमा फागुन र चैत महिनामा हिमपात हुने पुरानो अनुभव रहेकाले मतदानमा खटिने कर्मचारी र सुरक्षाकर्मीका लागि यो चुनौतीपूर्ण हुन सक्ने प्रजिअ शर्माको बुझाइ छ। यस पटक लोमान्थाङ–२ को समजुङ मतदानस्थललाई छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा गाभिएको छ भने लोघेकर दामोदरकुण्डमा मतदाताको सहजताका लागि एउटा नयाँ मतदानस्थल थपिएको छ।
हाल जिल्लाभर थासाङमा ८, घरपझोङमा ६, लोघेकर दामोदरकुण्डमा १०, वारागुङ मुक्तिक्षेत्रमा ९ र लोमान्थाङमा ६ वटा मतदान केन्द्र कायम छन्। सबै मतदान केन्द्रमा सडक, विद्युत् र सञ्चारको पहुँच पुगेको प्रशासनले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार मुस्ताङमा कुल ११ हजार ३२८ जना मतदाता छन्, जसमा महिलाको सङ्ख्या पुरुषको तुलनामा केही बढी छ। निर्वाचन सुरक्षाका लागि २६६ नेपाल प्रहरी र ४६ सशस्त्र प्रहरीलाई छनौट गरी तालिम दिन सुरु गरिसकिएको छ। मुस्ताङको चुनावी मैदानमा नेपाली कांग्रेस, एमाले, रास्वपा, राप्रपा लगायतका विभिन्न राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएर प्रचारप्रसारलाई तीव्रता दिएका छन्। चिसो मौसमका बाबजुद पनि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेका छन्।