महिलामाथिको अपमानजनक शब्द आलोचना होइन, हिंसा हो : नीशा अधिकारी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
683
Shares
काठमाडौँ । अभिनेत्री तथा काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार नीशा अधिकारीले महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरू व्यक्तिगत आलोचना नभई समाजमा गहिरो रूपमा जरा गाडेको महिला–विरोधी सोचको प्रतिबिम्ब भएको बताएकी छन्।
गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार उनले सामाजिक सञ्जालमा लेख्दै यस्ता अभिव्यक्तिलाई सामान्य असहमति वा बहसको रूपमा लिन नसकिने उल्लेख गरिन्। सार्वजनिक जीवनमा सक्रिय महिलालाई डराउन, चुप गराउन र राजनीतिबाटै पलायन गराउन यस्तो हिंसात्मक भाषा प्रयोग गरिने उनको ठम्याइ छ। उनले आफूले पाएको समर्थन र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै घृणाभन्दा आशा र एकताको शक्ति सधैँ ठूलो हुने कुरा प्रमाणित भएको दाबी गरिन्।
उनका अनुसार महिलालाई अपमान गरेर राजनीति कहिल्यै शुद्ध हुन सक्दैन र समाज पनि अगाडि बढ्न सक्दैन। उनले सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै लेखेकी छन्, ‘महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजको संकीर्ण सोच देखाउँछ। यो शक्ति र डरबाट जन्मिएको हिंसा हो, जसको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट हटाउनु हो।’ उनले यस्ता खालका दुर्व्यवहारले लोकतन्त्रलाई समेत कमजोर बनाउने स्पष्ट पारेकी छन्।
समर्थकहरूलाई सम्बोधन गर्दै उनले घृणा फैलाउनेहरूका विरुद्ध मौन नबसी एकजुट हुन आग्रह गरिन्। राजनीतिमा महिलाको सम्मानजनक सहभागिता बिना देशको विकास सम्भव नभएको उनको तर्क छ। आफूमाथि जतिसुकै प्रहार भए पनि डगमगाएर पछि नहट्ने र जनताको सेवामा लागिरहने प्रतिबद्धता उनले जनाएकी छन्।