गाउँमा नेता, सिमानामा युवा: सुर्खेतमा चुनावी सरगर्मीबीच बढ्दो पलायनको पीडा
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
672
Shares
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा सुर्खेतका गाउँ–सहरमा चुनावी प्रचारप्रसार निकै तीव्र बनेको छ। राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ-गाउँ पुगिरहेका छन्, तर उनीहरूलाई स्वागत गर्ने र मतदान गर्ने युवाहरूको सङ्ख्या भने निकै कम देखिएको छ।
सुर्खेतको चौकुने गाउँपालिका–५ का लोकेन्द्र सिंहराज थापाले अहिले गाउँमा युवाहरू भेटिनै मुस्किल भएको बताएका छन्। उनका अनुसार यहाँका युवाहरू खेतीपातीको सिजन र चाडपर्वमा मात्र गाउँ आउँछन्, बाँकी समय रोजगारीका लागि भारततिर जाने गर्दछन्। गाउँमा चुनावी रौनक बढे पनि भोट हाल्ने बेला महिला र वृद्धवृद्धा मात्रै बाँकी रहने भन्दै उनले अबका उम्मेदवारले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने माग गरेका छन्।
सोही क्षेत्रकी सीतादेवी नेपालीले पनि राजनीतिभन्दा जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ताले युवाहरू विदेशिन बाध्य भएको यथार्थ सुनाएकी छन्। उनका अनुसार चुनावका बेला नेताहरू ठूला कुरा गरेर आउँछन् तर युवाहरूको पलायन रोक्ने कुनै ठोस योजना ल्याउन सकेका छैनन्। चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बाँस्तोलाले स्थानीय सरकारले स्वरोजगार सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरे पनि युवाहरू गाउँमा टिक्न नमानेको स्वीकार गरेका छन्।
सुर्खेतको मात्र नभई समग्र कर्णाली प्रदेशकै अवस्था यस्तै छ, जहाँका अधिकांश युवाहरू रोजगारीका लागि भारत र पछिल्लो समय खाडी मुलुकहरूमा जाने क्रम बढ्दो छ। चुनावको बेला गाउँ सुनसान हुनुले नेताहरूका लागि रोजगारी सिर्जना गर्ने विषय मुख्य चुनौती बनेको देखिन्छ।