मतदान गर्ने तरिका सिकाउन घरदैलोमा स्वयंसेवक, आजदेखि देशैभर मतदाता शिक्षा शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३ आइतबार
635
Shares
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आजदेखि देशभरि नै मतदाता शिक्षा विशेष कार्यक्रम सुरु गरेको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम स्वीकृत भएको यो कार्यक्रमअनुसार आम नागरिकलाई मताधिकारको महत्व र मतदान गर्ने सही प्रक्रियाका बारेमा जानकारी दिइनेछ।
आयोगका अनुसार यो विशेष अभियान आजदेखि फागुन १७ गतेसम्म देशका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। यसका लागि प्रत्येक वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएका छन्, जसले मतदाताको बस्ती र घरदैलोमै पुगेर प्रत्यक्ष रूपमा सिकाउनेछन्।
स्वयंसेवकहरूले नमूना मतपत्रको प्रयोग गर्दै निर्वाचनको महत्व बुझाउनुका साथै मतपत्रमा कसरी छाप लगाउने र कसरी पट्याउने भन्ने विषयमा मतदातालाई प्रयोगात्मक जानकारी दिनेछन्। यसरी घर-घरमै पुगेर दिइने शिक्षाले निर्वाचनमा सर्वसाधारणको सहभागिता बढाउनुका साथै बदर मतको सङ्ख्या घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोगले लिएको छ। मतदाता शिक्षालाई थप प्रभावकारी र व्यवस्थित बनाउन आयोगले सबै सुरक्षा निकाय र स्थानीय प्रशासनसँग पनि समन्वय गरिरहेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो राष्ट्रिय अभियानलाई सफल बनाउन सातै प्रदेश सरकार, सबै स्थानीय तह, चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार र सञ्चार जगत्लाई सहयोग र सहजीकरणका लागि अनुरोध गरेका छन्। सबै सरोकारवालाको सक्रियताले मात्रै मतदाताहरू सचेत हुने र लोकतन्त्रको यो महाकुम्भमा सही रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सक्ने आयोगको ठहर छ।