काठमाडौँ । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन्। पुस महिनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन भएको तुलनामा माघमा राजस्वको आँकडा केही घटेको देखिएको छ ।
। देशभरका मालपोत कार्यालयहरूको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबारमा अझै उल्लेख्य सुधार आउन नसकेको जानकारी दियो।
विभागका अनुसार माघ महिनाभर कुल ५० हजार ८३७ लिखत पारित भएका छन्, जुन सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा भने केही बढी हो।
राजस्व सङ्कलनको वर्गीकरण हेर्दा सेवा करबापत ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ र रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ सरकारी कोषमा जम्मा भएको विभागले जनायो।
यसैगरी, घरजग्गा बिक्रीबाट प्राप्त हुने पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ सङ्कलन भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ।