वैदेशिक रोजगारीको लोभ देखाएर ६५ लाख ठगी गर्ने चार जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
594
Shares
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै ६५ लाख ३३ हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा झापाका ५१ वर्षीय धर्मप्रसाद राई र ४२ वर्षीय गोविन्दप्रसाद निरौला, काठमाडौँकी ३५ वर्षीया निमा डोल्मा लामा तथा गोरखाका ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार पक्राउ परेकामध्ये निमा डोल्मा लामाले बेलायत पठाउने भन्दै सबैभन्दा धेरै ५० लाख रुपैयाँ ठगी गरेकी छन्। त्यस्तै, राईले अष्ट्रिया पठाउने भन्दै ५ लाख ८५ हजार, श्रेष्ठले रोमानियाका लागि ७ लाख ५० हजार र निरौलाले टर्की पठाउने भन्दै २ लाख ३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।