ठूला नेता आउँदा बढ्यो कैलालीमा सुरक्षा चुनौती [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
731
Shares
धनगढी । कैलालीमा ठूला राजनीतिक दलका हेवीवेट नेता चुनावी प्रचारप्रसारका लागि आउने क्रम शुरू भएको छ ।
वर्तमान परिस्थितिमा स्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेन बुधबार धनगढीमा हुने आमसभाका लागि आउने कार्यक्रम तय भएको छ । ठूला नेता आउने कार्यक्रमले प्रहरीलाई भने सुरक्षा चुनौती थपेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार निर्वाचनमा त्यसैपनि सुरक्षा चुनौती हुने गर्दछ । त्यसैमाथि हेवीवेट नेताको उपस्थितिले चुनौतीलाई झनै बढाउने गरेको उनले बताए ।
‘निर्वाचनको समयमा सुरक्षा चुनौती जुनसुकै बेला पनि भइरहन्छ,’ तिमिल्सिनाले भने, ‘त्यसैमाथि शीर्ष नेताको उपस्थितिमा हुने ठूला कार्यक्रमले सुरक्षा व्यवस्थापनलाई थप चुनौती बढाउँछ, अहिले तीन ओटै सुरक्षा संयन्त्रले आपसमा समन्वय गर्दै चुनौतीको सामना गर्ने प्रयास भइरहेको छ ।’
जिल्लाको सुरक्षालाई मध्य नजर गर्दै एक हजार प्रहरी, साढे तीन हजार निर्वाचन प्रहरीलाई जिल्लामा खटाइएको छ ।
डीएसपी तिमिल्सिनाका अनुसार सशस्त्र प्रहरीले पनि सोही अनुमानमा सुरक्षा जनशक्ति परिचालन गरेको छ ।
आवश्यक परेको खण्डमा नेपाली सेनासँग पनि समन्वय गर्ने गरी जिल्ला सुरक्षा संयन्त्रले सुरक्षा योजना तयार पारेको उनी बताउँछन् ।
‘जिल्ला सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षा योजना तयार गरिसकेको छ,’ उनले भने, ‘सोही अनुसार अनुसन्धान प्रहरीसमेत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको समन्वयमा सुरक्षा परिचालन गरिएको छ ।’
कैलालीको पूर्वी क्षेत्रको एक सय एक किलो मिटर क्षेत्र भारतसँग जोडिएको छ । खुला सीमानाका कारण सो क्षेत्रबाट पनि सुरक्षा चुनौती हुने गरेको छ ।
त्यसबाहेक भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण पनि यस पटकको निर्वाचनमा सुरक्षा चुनौती बढ्न सक्ने छ ।
तर प्रहरीले भने ती चुनौतीको सामना गर्न पर्याप्त सुरक्षा व्यवस्था गरिएको जनाएको छ ।
‘प्रहरी उच्च मनोवलका साथ चुनावी सुरक्षामा खटिएको छ,’ डीएसपी तिमिल्सिनाले भने, ‘सबै खाले सुरक्षा चुनौतीको सामना गर्न हामी तयार छौँ ।’