चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओलीले भने- भदौ २३ को विध्वंस योजनाबद्ध आक्रमण [भिडियो]
ध्वस्त भएका संरचनाको पुनः निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब आफ्नो पार्टीको काँधमा रहने
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
752
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेका घटनाहरू नेपालको संविधान, वर्तमान व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनाबद्ध प्रहार भएको बताए। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले देश हाल विवेक र आवेगको कठिन दोबाटोमा उभिएको टिप्पणी गरे। अध्यक्ष ओलीले मुलुकमा 'भत्काउने' र 'बनाउने' दुई विपरीत सोचबीच द्वन्द्व भइरहेको उल्लेख गर्दै देशलाई फेरि प्रयोगशाला बनाउन खोजिएको भन्दै सचेत गराए।
अध्यक्ष ओलीले भदौ २३ को प्रदर्शनमा सुनियोजित घुसपैठ भएको गम्भीर आरोप लगाए। शान्तिपूर्ण रूपमा घर फर्कन लागेका युवाहरूलाई नियोजित रूपमा निषेधित क्षेत्रतर्फ धकेलेर हिंसा भड्काइएको उनको दाबी छ। संवैधानिक प्रक्रियाबाट स्थिर सरकार ढाल्न नसकेपछि सडकबाटै राजनीतिक प्रणालीमाथि प्रहार गर्ने उद्देश्यले ती घटनाहरू गराइएको उनले जिकिर गरे। राजनीतिक अस्थिरतालाई देश विकासको मुख्य बाधकका रूपमा चित्रण गर्दै उनले ठूला दलहरूबीचको सहकार्य संकट निम्त्याउन नभई अस्थिरता रोक्नका लागि भएको स्पष्ट पारे।
कार्यक्रममा अध्यक्ष ओलीले केही गम्भीर प्रश्नहरू समेत तेर्स्याए। उनले भदौ २३ अघि देश वास्तवमै बिग्रँदै थियो कि काल्पनिक भाष्य खडा गरेर आक्रोश फैलाइएको थियो भन्ने प्रश्न गर्दै ती घटनाहरूको प्रकृतिमाथि संशय व्यक्त गरे। निजी सम्पत्ति, व्यवसाय र सुरक्षाकर्मीमाथि भएको आक्रमण स्वतःस्फूर्त नभई योजनाबद्ध भएको उनको तर्क छ। साथै, प्रदर्शनकारीका कुनै माग नहुँदाहुँदै पनि प्रणालीमाथि धावा बोल्ने गरी प्रतिनिधि सभा विघटन गरिनु रहस्यमय भएको उनले बताए। यी प्रश्नहरू कुनै 'कन्सपिरेसी थ्योरी' नभई संविधान र व्यवस्थाको रक्षाका लागि खोज्नै पर्ने अनिवार्य जवाफ भएको उनको भनाइ छ।
अन्तमा, एमालेसँग मात्र विकास, सुशासन र निर्माणको स्पष्ट ट्रयाक रेकर्ड रहेको दाबी गर्दै अध्यक्ष ओलीले ध्वस्त भएका संरचनाको पुनः निर्माण र जनताको खस्किएको मनोबल उकास्ने जिम्मेवारी अब आफ्नो पार्टीको काँधमा रहेको जिकिर गरे।