arrow

खेतबारीदेखि सामाजिक सञ्जालसम्म उम्मेदवारको दौडधुप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
election-2082-new.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी मैदानमा होमिएका उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न विविध शैलीका साथ जनताको घरदैलोमा पुगेका छन्। आगामी फागुन २१ गते हुने मतदानका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा चुनावी चहलपहल उत्कर्षमा पुगेको छ।

यसपटक उम्मेदवारहरूले मतदाता रिझाउन निकै भिन्न र रोचक शैली अपनाएका छन्। सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियोहरूमा उम्मेदवारहरू कतै मतदाताको खेतबारी जोतिरहेका, कतै मल बोकिरहेका त कतै भान्छामा बसेर सागसब्जी केलाइरहेका देखिन्छन्। कोही प्रत्याशी बिरामी बोक्न सक्रिय छन् भने कोही नाताकुटुम्ब गाँसेर पुरानो चिनजान नवीकरण गर्दै भोट मागिरहेका छन्।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह लगायतका शीर्ष नेताहरूले अपनाएका प्रचार शैली र अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले चासोका साथ हेरिरहेका छन्। यस्तै, ऋषि धमला, महावीर पुन, सूर्यबहादुर थापा, हर्कराज राई र ज्ञानेन्द्र शाही जस्ता उम्मेदवारहरू पनि आ–आफ्नै मौलिक शैलीका कारण चर्चामा छन्।

पत्रकार राजेन्द्र दाहालका अनुसार प्रविधिले उम्मेदवारलाई मतदातासम्म पुग्न सहज बनाएको छ। फागुन २१ को निर्वाचनका लागि १६५ सिटमा ३ हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले यसपटक १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने अपेक्षा गरेको छ, जसका लागि १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्।

पूर्वप्रशासक देवकुमारी गुरागाईं लोकप्रियताका लागि गरिने अपरिपक्व शैलीभन्दा सरल र कूटनीतिक तरिकाले मतदाताको विश्वास जित्न सुझाव दिनुहुन्छ। त्यस्तै, जियोकका महासचिव कृष्णमान प्रधान उम्मेदवारले मतदातालाई अलमल्याउनुभन्दा आफ्नो स्पष्ट मार्गचित्र देखाउनुपर्नेमा जोड दिन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ