arrow

साठी वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको अध्यक्ष ओलीको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
ko-sharma-oli-10-11.jpg

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले देश र जनताको पक्षमा काम गर्दा चौतर्फी प्रहार र घेराबन्दीको निशानामा परेको बताएका छन्।

झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको र कमिसनको खेलमा नलागेको दाबी गरे। देशको विकास र राष्ट्रियताको पक्षमा उभिएकै कारण आफूमाथि निरन्तर आक्रमण भइरहेको उनको भनाइ छ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा मिचिएको भूभाग फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको, उत्तरतर्फका नाका खोलिएको र दक्षिणतर्फ हुलाकी राजमार्ग निर्माण गरी मधेसको अर्थतन्त्र उकास्ने काम भएको स्मरण गराए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै एउटा पालिका चलाउन असफल भएकालाई देश चलाउने जिम्मा दिन नसकिने बताए।

देश कुनै प्रयोगशाला वा मजाक गर्ने ठाउँ नभएको भन्दै सफल र सक्षम शक्तिलाई छाडेर असफल भइसकेका र चिनिन नसकेकालाई भोट दिनुपर्ने भाष्य निर्माण गर्न खोजिएकोमा उनले असन्तुष्टि जनाए।

उनले एमाले मात्रै देशको रक्षा गर्न सक्ने पार्टी भएको दाबी गर्दै एमाले रहुन्जेल देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतामा आँच नआउने बताए।

देशको एक-एक इन्च भूमिको रक्षा गरिने प्रतिवद्धता व्यक्त गर्दै एमाले छाला बचाउन घुँडा टेक्ने र टाउको जोगाउन शिर झुकाउने कायर पार्टी नभएको उनको भनाइ छ।

राणा शासनविरुद्ध लडेर देशलाई यहाँसम्म ल्याइपुर्याएको पार्टी कसैको कठपुतलीसँग डराएर पिठ्यूँ नफर्काउने उनले स्पष्ट पारे।

ओलीले पार्टीसँग दीर्घकालीन भिजन, त्यसलाई कार्यान्वयन गर्ने नीति, कार्यक्रम र योजनाको स्पष्ट रूपरेखा रहेको उल्लेख गरे। विपक्षी तथा केही बाह्य शक्तिहरू देशलाई माया गर्दा पनि असन्तुष्ट हुने गरेको आरोप लगाउँदै उनले जात, धर्म र भूगोलका आधारमा विभाजन गर्ने प्रयासविरुद्ध आफू दृढताका साथ उभिएको बताए। त्यसकै कारण आफू र एमालेमाथि झुटा लाञ्छना र आरोप लगाइँदै आएको उनको दाबी छ।

उनले सफल र सक्षम नेतृत्वलाई छाडेर असफल भइसकेकालाई जिम्मेवारी दिने भाष्य गलत भएको बताए। देशलाई पुनः शान्तिपूर्ण वातावरणतर्फ फर्काउन, लोकतन्त्र, सुशासन, शान्ति सुव्यवस्था बहाल गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, सेवा-सुविधा प्रभावकारी बनाउन र विकासको गतिलाई तीव्रता दिन एमालेले थालेको अभियानलाई बिना रोकतोक अघि बढाउनुपर्नेमा उनले जोड दिए।

हजारौँ वर्ष लगाएर पुर्खाहरूले विकास गरेका संस्कृति र संस्कारको रक्षा गर्दै समाजमा रहेका विकृति र पुरातन बेथितिहरूलाई हटाउँदै जानुपर्ने उनको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ