निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १० आइतबार
751
Shares
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ। निर्वाचनमा आम मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न मतदानको अघिल्लो दिन, मतदानको दिन र त्यसको भोलिपल्ट गरी लगातार तीन दिन बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको हो।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार, आफ्नो कार्यक्षेत्र वा बसोबासभन्दा टाढा रहेका मतदाताहरूलाई मतदानस्थलसम्म पुग्न र फर्कन सहज होस् भन्ने उद्देश्यले यो प्रस्ताव गरिएको हो।
यसअघि नै फागुन १८ गते सोमबार पहाडी जिल्लाहरूमा र फागुन १९ गते मङ्गलबार तराईका जिल्लाहरूमा फागु पूर्णिमा (होली) को सार्वजनिक बिदा रहेको छ। यदि सरकारले आयोगको सिफारिस कार्यान्वयन गरेमा मतदाताहरूले होलीको बिदा लगत्तै निर्वाचनका लागि थप समय पाउनेछन्।
यसले गर्दा विशेषगरी राजधानी र अन्य सहरमा रहेका मतदाताहरूलाई आफ्नो गाउँसम्म पुगेर मतदान गर्न पर्याप्त समय मिल्ने र मतदानको प्रतिशत बढ्ने आयोगको विश्वास छ।