गुलरिया (बर्दिया) । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घस्रने वन्यजन्तुको सूचीकृत सर्प प्रजातिका अजिङ्गर विविध कारणले सङ्कटमा परेका छन् । वासस्थान विनास, वन डढेलोलगायत सरकारी उदासीनताले गर्दा यिनीहरुको अवस्था थप सङ्कटमा परेका हुन् । अजिङ्गरको आहारा दैवले पुर्याउँछ भन्ने उखान अधिकांश नेपाली जनजिब्रोमा झुन्डिएको पाइन्छ ।
बढ्दो जनसङ्ख्या वृद्धि, वन फँडानी, सीमसार क्षेत्रहरुको अतिक्रमण र अत्यधिक प्राकृतिक दोहनले अजिङ्गरको आहारा मात्र होइन वासस्थान नै गुम्ने खतरा बढेको कृष्णसार संरक्षण कार्यालय, बर्दियाका प्रमुख नारायण रुपाखेती बताउनुहुन्छ । सर्प प्रजातिमा आकर्षक मानिने यी प्रजातिहरु विशेष गरी नेपालमा इन्डियन रक र वर्मिज गरी दुई किसिमका अजिङ्गरका लागि उपयुक्त वासस्थान रहेको उहाँले बताउनुभयो ।
चिसो रगत प्रजातिमध्येका अजिङ्गर शान्त प्रकृति भएका सिकारका लागि बाहिर निस्कने र सिकारपछि आराम गर्ने गर्छन् । यतिखेर नेपालमा प्राकृतिक स्रोत साधनमाथि अत्यधिक मानवीय दोहन र वासस्थान विनाशका कारण अजिङ्गर सङ्कटपूर्ण अवस्थामा छन् ।
सरकारले बाघ, हात्ती, गैँडालाई जस्तो अजिङ्गरका प्रजातिको संरक्षणमा कुनै चासो नदिएको उहाँ बताउनुहुन्छ । वन डढेलोलगायत कृषि प्रणालीमा प्रयोग गरिने विषादीले गर्दा अजिङ्गर संरक्षणमा थप चुनौती थपिदिएको भन्दै उहाँले भन्नुभयो,“यत्र तत्र छरिएका अवस्थामा भेटिने अजिङ्गरको वासस्थानको पहिचान र यिनीहरुको सङ्ख्या यकिन गर्नसमेत सरकारले ध्यान दिएको छैन ।”
सरकारले वन्यजन्तु ऐनमा संरक्षित सूची बनाउनुमात्र संरक्षण होइन । यस्ता महत्वपूर्ण जीवको संरक्षणका लागि प्रजाति संरक्षणको प्रभावकारी नीति ल्याउनु जरुरी छ ।