निर्वाचनको दिन उपत्यकाका सडक सुनसान, अनुमतिविनाका सवारीमाथि प्रहरीको कडाइ
पासविनाका सवारीलाई उपत्यकामा पूर्ण रोक, चोक-चोकमा कडा चेकिङ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
646
Shares
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आज काठमाडौँ उपत्यकाका सडकमा सवारीसाधन आवागमनमा निकै कडाइ गरिएको छ। मतदानको दिन अनुमतिपत्र (पास) नलिएका सवारीसाधन चलाउन रोक लगाइएपछि उपत्यकाका मुख्य सडकहरू सुनसान देखिएका छन्।
चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच गरिरहेका छन्। सडकमा गुड्ने सवारीसाधनलाई नियन्त्रण र अनुगमन गर्न प्रहरीले ‘हिलटेक’ लेखिएका ट्राफिक कोन र पहेँलो–रातो रङका फोल्डिङ ब्यारिकेडहरू सडकको बीचमा राखेर विभिन्न ठाउँमा चेकप्वाइन्टहरू निर्माण गरेको छ। जसका कारण अन्य दिनहरूमा निकै व्यस्त रहने उपत्यकाका सडकहरू आज प्रायः खाली र शान्त छन्।
ट्राफिक प्रहरीले सडकमा गुडेका प्रत्येक सवारीसाधनलाई रोकेर सोधपुछ तथा पासको सूक्ष्म जाँच गरिरहेका छन्। अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दमकल र प्रेसका गाडीहरूलाई समेत परिचयपत्र र प्रयोजन हेरेर मात्र अगाडि बढ्न दिइएको छ। विशेषगरी मोटरसाइकल र स्कुटर जस्ता दुईपाङ्ग्रे सवारीसाधनमाथि प्रहरीले कडा निगरानी राखेको छ। अनुमतिविना सडकमा निस्किएका सवारीसाधनलाई प्रहरीले विभिन्न स्थानमा नियन्त्रणमा समेत लिएको छ।