संविधान संशोधनमा राष्ट्रिय सभा संवेदनशील बन्छ, सामान्य विधेयक रोकिँदैन: सांसद शाही
सुधारका राय दिन्छौँ, तर संविधान चलाउँदा विचार गर्छौँ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
915
Shares
काठमाडौँ । राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले प्रतिनिधि सभाबाट पारित भएर आउने सामान्य विधेयक तथा ऐनहरूलाई राष्ट्रिय सभाले नरोक्ने बताएका छन्। बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित नवनिर्वाचित सदस्यहरूको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।
सांसद शाहीले राष्ट्रिय सभाको मुख्य भूमिका विधेयकहरूको गम्भीर अध्ययन गरी आवश्यक सुधारसहित सुझाव दिने रहेको स्पष्ट पारे। प्रतिनिधि सभाबाट आएका कानुनहरूमा कमी-कमजोरी देखिएमा राय-सल्लाहसहित पुनः प्रतिनिधि सभामा पठाउनु राष्ट्रिय सभाको संवैधानिक जिम्मेवारी भएको उनको भनाइ छ। "प्रतिनिधि सभाले हाम्रो सुझाव ग्रहण गरेर अघि बढ्नु राम्रो हुन्छ, तर स्वीकार नगरे पनि त्यो उसको विशेषाधिकारको विषय हो," उनले भने।
सामान्य विधेयकमा लचकता देखाए पनि संविधान संशोधनसँग जोडिएका विषयमा भने राष्ट्रिय सभा निकै संवेदनशील बन्ने शाहीले बताए। विशेष गरी दुई-तिहाइ बहुमत आवश्यक पर्ने विषयहरूमा राष्ट्रिय सभाले आफ्नो अधिकार प्रयोग गर्ने उनको सङ्केत छ।
यो भनाइलाई प्रतिनिधि सभामा झन्डै दुई-तिहाइ सिटसहित सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग जोडेर हेरिएको छ। रास्वपाले संविधान संशोधनको मुद्दा उठाए पनि राष्ट्रिय सभामा उसको एक जना पनि सदस्य छैनन्। यस्तो अवस्थामा प्रतिनिधि सभाबाट दुई-तिहाइले पारित भए पनि राष्ट्रिय सभाले संविधान संशोधनका कतिपय प्रस्ताव रोक्न सक्ने सङ्केत शाहीको अभिव्यक्तिले दिएको छ।
प्रतिनिधि सभा निर्वाचनको परिणामबारे टिप्पणी गर्दै शाहीले नेपाली जनता पुराना राजनीतिक दलहरूप्रति सन्तुष्ट नदेखिएको स्वीकार गरे। "हामीबाट भएका कार्यसम्पादनबाट जनता सन्तुष्ट नभएकै कारण अहिलेको परिणाम आएको हो," उनले भने। यद्यपि, कर्णाली प्रदेशमा भने नेपाली कांग्रेसले राम्रो नतिजा हासिल गरेको उनले दाबी गरे।