जेन–जी आन्दोलनमा भएको दमन नस्वीकारेका ओलीले स्वीकारे चुनावी परिणाम
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
2.8k
Shares
काठमाडौँ । जेन–जी आन्दोलनमा भएको दमन नस्वीकारेका तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणामलाई भने स्वीकारेका छन् ।
उनले यो निर्वाचन परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको र पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।
उनले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भन्दै त्यसलाई शिरोधार्य गर्नु आफ्नो तथा पार्टीको कर्तव्य भएको बताएका छन् ।
ओलीले निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले देखाएको विश्वास र साथ नै पार्टीको मुख्य शक्ति भएको उनले उल्लेख गरेका छन् ।
उनले निर्वाचन परिणाम पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन् । आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै हितमा काम गर्दै विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने प्रतिबद्धता ओलीले व्यक्त गरेका छन् ।
गत भदौ २३ गते भएको जेन–जी आन्दोलनमा सरकारी दमनबाट एकैदिन १९ जनाको मृत्यु भएको थियो । उक्त आन्दोलनमा ७६जनाले ज्यान गुमाएका थिए । तत्कालीन सरकारको नेतृत्व गरेका ओलीले अहिलेसम्म पनि जेन–जी आन्दोलनमा भएको जनधनको जिम्मा लिएका छैनन् ।
उक्त भदौ २३ र २४ को आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिबेदनसमेत सरकारले सार्वजनिक गरेको छैन ।
ओलीले २३ गतेको घटनापछि २४ गते व्यक्त भएको आक्रोश धान्न नसकेर प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर सेनाको हेलिकोप्टरमा सुरक्षित स्थानमा भागेका थिए ।
अहिलेको चुनावमा उनी झापा ५ बाट वालेन्द्र साह बालेनसँग ५० हजार मतको अन्तरले पराजित भएका थिए ।