arrow

मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधार: प्रहरी महानिरीक्षक कार्की

न्यायमा दलितको पहुँच पुर्‍याउन 'बोटलनेक' खोल्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
dan-bd-igp.jpg

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले २१ औँ शताब्दीको आधुनिक समाजमा पनि जाति र रङ्गभेदका कुरा गरिरहनुपर्ने अवस्था हुनु दुःखद् रहेको बताएका छन्। अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मानिसको अन्तर्निहित मर्यादा र आत्मसम्मान नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको उल्लेख गरेका हुन्।

महानिरीक्षक कार्कीले सुरक्षालाई भौतिक रूपमा मात्र नहेरी ‘मानवीय सुरक्षा’ को बृहत् रूपमा बुझ्नुपर्नेमा जोड दिए। भ्रुणको रक्षादेखि बालबालिकाको पोषण, शिक्षा र स्वास्थ्यको प्रत्याभूति गर्नु राज्यको मूल दायित्व भएको उनको भनाइ छ। कानुनमा व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयनका लागि व्यक्ति, संस्था र समग्र राज्य संरचना नै जिम्मेवार हुनुपर्ने उनले बताए।

सामाजिक सोचमा परिवर्तन आवश्यक रहेको औँल्याउँदै महानिरीक्षक कार्कीले भने, “आज २०८२ साल (सन् २०२६) मा आएर पनि हामीले जाति र रङ्गभेदकै कुरा गरिरहनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ। कहिलेकाहीँ सोसल मिडियामा गोरो हुन फलानो चिज लगाउनुस् भनिएको देखिन्छ। यो गोरोपनप्रतिको आसक्ति हाम्रो व्यक्तिगत र सामूहिक मानसिकताको समस्या हो जस्तो मलाई लाग्छ।”

दलित समुदायको न्यायमा पहुँच सुनिश्चित गर्न राज्यका संरचनामा रहेका ‘बोटलनेक’ (अवरोध) हरू खुला गर्नुपर्ने उनले औँल्याए। संस्कार, संस्कृति र शिक्षामा सुधार ल्याउनुपर्ने तर्क गर्दै उनले भने, “प्रहरी पनि यही समाजको संरचनाबाट बनेको हुनाले कानुन कार्यान्वयनमा सबैले सकारात्मकता ल्याउनु जरुरी छ। अब नयाँ बन्ने संसद्ले पनि यस्ता विषयलाई सम्बोधन गर्ने अपेक्षा गर्छौँ।”

महानिरीक्षक कार्कीले शिक्षाको पाठ्यक्रम निर्माण गर्दा नै नागरिकलाई समानता र न्यायका कुरा सिकाउनुपर्ने सुझाव दिएका छन्। राज्यका माथिल्लो तहमा पुगेका व्यक्तिहरूले आफ्नो व्यवहारबाटै समानताको उदाहरण पेस गर्नुपर्नेमा उनले जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ