नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोह होटलको कोठाबाटै पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
742
Shares
काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरस्थित एक होटलबाट नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने गिरोहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले चन्द्रपुर नगरपालिका–५ मा रहेको जगत रिसोर्ट होटलबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले बताए।
प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपा लाबुङ्गको नेतृत्वमा मंगलबार दिउँसो होटलको कोठा नम्बर १०२ मा छापा मारिएको थियो।
अवैध सुनको किनबेच भइरहेको जानकारी पाएलगत्तै पुगेको प्रहरीले खानतलासी गर्दा नक्कली सुनका टुक्राहरू र अन्य उपकरणहरू फेला पारेको थियो।
पक्राउ पर्नेहरूमा नुवाकोटका ३७ वर्षीय अशोक तामाङ, चन्द्रपुरका ३० वर्षीय अरविन्द चौधरी, रौतहट बौधीमाईका ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बङ्गालका ३० वर्षीय संजोक बस्नेत रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ४ थान, पोलेर कालो बनाइएको धातु ३ थान, एउटा दूरबिन र ६ थान मोबाइल बरामद गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरूले नक्कली धातुलाई सक्कली सुन भनी सर्वसाधारणलाई झुक्काएर बिक्री गर्ने उद्देश्य राखेको देखाएको छ।
पक्राउ परेका सबैमाथि ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको र यस घटनामा संलग्न हुन सक्ने अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले बताए।