arrow

रोवामा अस्थायी प्रहरी पोस्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २३ सोमबार
police-post-rowa.jpg

मुगु । छायानाथ रारा नगरपालिका-स्थित रोवा गाउँमा अस्थायी प्रहरी पोस्ट औपचारिक रूपमा स्थापना गरिएको छ । आइतबार जिल्ला सुरक्षा समिति, स्थानीय तह तथा सरोकारवालाहरूको उपस्थितिमा वडा नम्बर ११ मा उक्त पोस्ट सञ्चालनमा ल्याइएको हो ।

साबिक रावा गाविसअन्तर्गत पर्ने हालका वडा नं. १०, ११ र १२ का एक दर्जनभन्दा बढी बस्तीका १० हजारभन्दा बढी नागरिकको शान्ति सुरक्षा, धनजनको रक्षा तथा आपराधिक गतिविधि नियन्त्रणलाई मध्यनजर गर्दै पोस्ट स्थापना गरिएको हो ।

लामो समयदेखि स्थानीय बासिन्दाले प्रहरी सेवा लिन सदरमुकामसम्म २/३ घण्टा हिँड्नुपर्ने बाध्यता थियो ।

नगरप्रमुख विष्णु कुमार भाम का अनुसार २०८९ सालदेखि नै उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको थियो ।

पालिका, वडा तथा जिल्ला सुरक्षा समितिले पटक-पटक गृह मन्त्रालय सम्म पहल गर्दै आएको र समाजसेवी अनील बानियाँको सक्रियतामा अन्ततः अस्थायी पोस्ट स्थापना सम्भव भएको उनले बताए ।

नगरपालिकाले हालका लागि दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

उक्त पोस्टमा पाँच जना प्रहरी खटिनेछन् । स्थानीयस्तरमै सानातिना विवाद, उजुरी तथा सेवा प्रदान गरिनेछ भने ठूला घटनाहरू मात्र जिल्ला सदरमुकाम पठाइने व्यवस्था गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रबिराज थपलियाले पोस्टमा खटिएका प्रहरीलाई कानुनअनुसार नागरिकको सुरक्षामा सक्रिय रहन निर्देशन दिइएको बताए । उनले स्थानीयलाई कुनै पनि घटना घटेमा प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरे ।

प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार देशभरबाट अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि करिब दुई हजार सात सय निवेदन परेकोमा मुगुको रोवाले अनुमति पाउनु महत्वपूर्ण उपलब्धि हो ।

उनले स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गरिने बताए ।

स्थानीयवासीका अनुसार गाउँमै प्रहरी सेवा उपलब्ध भएपछि न्यायमा पहुँच सहज हुने र अपराधका घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

वडाध्यक्ष कुन्जुमा कुमाईंले पनि स्थानीय तहबाट आवश्यक सहयोग जारी रहने बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ