संसद्को पहिलो अधिवेशन सम्पन्न: बजेट अधिवेशनका लागि मार्ग प्रशस्त
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
781
Shares
काठमाडौँ। प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रक्रियागत कामहरू पूरा गर्दै सम्पन्न भएको छ। शुक्रबार मध्यरातदेखि अन्त्य भएको यस अधिवेशनले आगामी बजेट अधिवेशनका लागि आवश्यक नीति, कार्यक्रम र विधेयक पेस गर्ने आधार तयार पारेको छ।
यस अधिवेशनले प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल र उपसभामुखमा रुवीकुमारी ठाकुरलाई निर्वाचित गरेको छ। यस्तै, राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्वाचित भएकी छन्। अधिवेशनको अन्तिम बैठकले संयुक्त तथा एकल समितिहरूमा सदस्यहरूको मनोनयन समेत टुङ्गो लगाएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आगामी वैशाख ४ गते विषयगत समितिहरूका सभापतिको निर्वाचन हुनेछ।
नवनिर्मित संसद्भवनमा सांसदहरूको शपथपछि प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका थिए। चैत १३ गते गठित उनको नेतृत्वको मन्त्रिपरिषद्का बारेमा संसद्लाई जानकारी गराइएको छ। यद्यपि, पहिलो अधिवेशनका क्रममा प्रधानमन्त्री शाहले संसद्लाई सम्बोधन भने गरेनन्।
प्रथम अधिवेशनका क्रममा ६ दिनमा ६ पटक बैठक बसी कुल १० घण्टा ५० मिनेट संसदीय कार्य सम्पन्न भयो। यस अवधिमा निर्वाचन, मतदाता र नेपाल विशेष सेवा सम्बन्धी तीनवटा अध्यादेश स्वीकृत भएका छन्। 'वैकल्पिक विकास वित्त विधेयक, २०८२' माथि सैद्धान्तिक छलफल भए पनि यसलाई समितिमा पठाउन बाँकी छ। अघिल्लो प्रतिनिधिसभा विघटनसँगै पुराना विधेयकहरू निष्क्रिय भएकाले नयाँ सरकारले प्राथमिकताका आधारमा विधेयकहरू पुनः पेस गर्नुपर्ने अवस्था छ।
संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन समितिमा सदस्यहरूको मनोनयन भइसकेकाले अब संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्तिको प्रक्रियाले गति पाउनेछ। हाल सर्वोच्च अदालतको प्रधानन्यायाधीश र निर्वाचन आयोगको प्रमुख आयुक्त लगायतका महत्त्वपूर्ण पदहरू रिक्त छन्। संसदीय सुनुवाइ समितिले यी पदहरूमा हुने नियुक्तिको योग्यता र क्षमता परीक्षण गरी कार्यपालिकालाई संसद्प्रति जवाफदेही बनाउनेछ।
अधिवेशनको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय महिला आयोग र आदिवासी जनजाति आयोग लगायतका वार्षिक प्रतिवेदनहरू समेत पेस गरिएका छन्।