प्रतिनिधि सभा नियमावली मस्यौदा तयार: संसदीय निर्देशन कार्यान्वयनमा ३० दिने समयसीमा प्रस्ताव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
712
Shares
काठमाडौँ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले आफ्नो कार्यादेश अनुरूपको मस्यौदा तयार गरेको छ। १४ दिनको समयसीमा पाएको समितिले १३ औँ दिनमा सम्पूर्ण काम पूरा गरेको जानकारी समितिका संयोजक गणेश पराजुलीले दिए। समितिले सोमवार मस्यौदाको अन्तिम परिमार्जन र क्रम मिलाउने कार्य सम्पन्न गरेको छ भने मङ्गलवार सभामुखलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।
नयाँ मस्यौदामा कार्यपालिका र व्यवस्थापिका बीचको सम्बन्धलाई थप सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण व्यवस्थाहरू प्रस्ताव गरिएका छन्। पहिलो पटक थपिएको व्यवस्थाअनुसार संसदीय समितिले दिएका निर्देशनहरू कार्यान्वयन भए वा नभएको बारे कार्यपालिकाले ३० दिनभित्र अनिवार्य रूपमा प्रगति विवरण बुझाउनुपर्नेछ।
यदि समितिले दिएको निर्देशन व्यावहारिक छैन भने कार्यपालिकाले ३० दिनभित्रै स्पष्ट कारणसहित संशोधन वा पुनर्मूल्याङ्कनका लागि अनुरोध गर्न पाउने प्रावधान समेत राखिएको छ।
संयोजक पराजुलीका अनुसार विगतमा समितिका निर्देशनहरूमा कार्यपालिकाको उचित जवाफदेहिता नदेखिएकाले यसपटक समयसीमा नै तोकेर जिम्मेवार बनाउन खोजिएको हो। यसले व्यवस्थापिका र कार्यपालिका दुवै तहलाई उत्तिकै उत्तरदायी बनाउने विश्वास उनले व्यक्त गरे।
संविधानको धारा १०४ अनुसारको यो नियमावली संसदको मूल कानुन भएकाले यसले कार्यपालिकामाथि व्यवस्थापिकाको नियन्त्रण र सन्तुलनलाई थप प्रभावकारी बनाउने देखिएको छ।
यसका साथै, संसदीय समितिहरूमा विधेयकहरू लामो समयसम्म अल्झिने समस्या समाधान गर्न निश्चित कार्यतालिका निर्माण गर्ने प्रावधान समेत मस्यौदामा समेटिएको छ। विधेयक निर्माण प्रक्रियामा समितिहरूलाई समयसीमा तोकिएसँगै अब कानुन निर्माणको गतिले तीव्रता पाउने अपेक्षा गरिएको छ। मङ्गलवार सभामुखलाई मस्यौदा बुझाएसँगै प्रतिनिधि सभा सञ्चालनमा नयाँ आयाम थपिने र संसदीय सर्वोच्चता अझ बलियो हुने अपेक्षा गरिएको छ।