स्टाडियो सान्टियोगो बर्नाबेउ । स्पेनिश लिग ला लिगा फुटबल रोमाञ्चक मोडतिर अगाडि बढिरहेको छ । निरन्तर शीर्ष स्थानमा विराजमान भएको रियाल मड्रिडले कमजोर आँकिएको टिम लस पल्मससंग ३–३ गोलको बराबरी खेल्दा बार्सिलोना एक खेल बढी खेले पनि शीर्ष स्थानमा पुगेको छ ।
रियालले घरेलु स्टाडियो सान्टियागो बर्नाबेउ मैदानमा खेले पनि ग्यारेथ बेललाई दाहोरो पहेंलो कार्डका कारण गुमाउनु प¥यो । त्यतिमात्र होइन क्रिष्टियानो रोनाल्डोलेसमेत पहेंलो कार्ड खाएका छन् । त्यसपछि भने रोनाल्डोले दुई गोल गरे ।
त्यस्तै इस्कोले एक गोल गरे । लस पल्मसका ताना, जोनाथन भिएरा र केभिन प्रिन्स बोटेङले एक एक गोल गरे ।
घरेलु मैदानमा रियाल हार्दा बार्सिलोनाले भने क्याम्प नोउको घरेलु मैदानमा स्पोर्टिङ गियोनलाई ६–१ को विशाल अन्तरले हरायो ।
लिओनल मेसी, लुइस सुवारेज, फ्रान्सिस्को अल्कासर, नेमार र इभाँ राकिटिकले एक एक गोल गरे । हुँवा रोड्रिग्वेजले आत्मघाती गोल गरे । स्पोर्टिङका कार्लोस कास्ट्रोले एक गोल फर्काए ।
लिगका बुधबार रातिका अन्य खेलमा भिल्लारियलले ओसासुनालाई ४–१ ले तथा ग्रानाडाले अलाभेसलाई २–१ ले हराउँदा सेल्टाभिगो र स्पानियोलले २–२ को बराबरी खेले ।
यी खेलपछि लिगमा लामो समयपछि बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २५ खेलबाट ५७ अंकसहित शीर्ष स्थानमा पुगेको हो ।
२४ खेलबाट रियाल मड्रिड ५६ अंकसहित दोस्रो स्थानमा झरेको छ । त्यस्तै सेभिया २४ खेलबाट ५२ अंकसहित तेस्रो स्थानमा छ ।