राज्य व्यवस्था समितिको बैठक नबस्नु सरकारको असफलता : कांग्रेस [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार
301
Shares
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक नियमित रूपमा बस्न नसक्नु सरकारको असफलता भएको आरोप लगाएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले गृह मन्त्रालय सम्हाल्ने मन्त्री वा प्रधानमन्त्रीको अनुपस्थितिका कारण समितिको कामकारबाही प्रभावित भएको बताए।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पछिल्ला विभिन्न घटनाबारे संसद्मा प्रश्न उठाउनुपर्ने अवस्था रहे पनि सम्बन्धित मन्त्रीको अभावमा समिति अनिर्णयको बन्दी बनेको उल्लेख गरे।
समितिका सभापतिले पटक-पटक बैठक बोलाउन आग्रह गरे पनि सम्बन्धित मन्त्रालयको नेतृत्व नहुँदा आफूहरू सहभागी हुन नसकेको उनले बताए। जनताका आवाज र समस्याबारे सम्बन्धित मन्त्रीबाटै जवाफ खोज्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्रीको कार्यव्यस्तता र अनुपस्थितिका कारण समितिको बैठक प्रभावित भएको भन्दै उनले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाए। एउटा महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसक्नु सरकारको असफलता भएको टिप्पणी उनले गरे।
उनले भने, “मुलुकमा घटेका विभिन्न घटनाका सम्बन्धमा हामीले समितिमा प्रश्न उठाउनुपर्नेछ, तर जवाफ दिने मन्त्री नै हुनुहुन्न । यदि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै छ भने उहाँ आफैँ समितिमा उपस्थित हुनुपर्यो, अन्यथा तत्काल गृहमन्त्री नियुक्त गरिनुपर्छ ।”
सांसदहरूले उठाएका चासोमा जनताको आवाज जोडिएको उल्लेख गर्दै नेता आङदेम्बेले समितिलाई बन्धक नबनाई तत्काल निकास दिन सरकार र सत्तारुढ दलको ध्यानाकर्षण गराए।