काठमाडौँ । सभामुख डोल प्रसाद अर्यालले नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा बादलले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध दिएको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले यस्तो निर्देशन दिएका हुन्।
बैठकमा एमाले नेता थापाले रास्वपाको वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाउँदै कडा आलोचना गरेका थिए। उनले रास्वपा कुनै सुव्यवस्थित वा सुसङ्गत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको 'अति महत्त्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड' भएको आरोप लगाएका थिए। थापाले रास्वपालाई 'चरम अवसरवादी र अस्थिर प्रवृत्ति' भएको दलको संज्ञा दिँदै यसको परिणाम मुलुकका लागि अत्यन्त घातक हुने दाबी समेत गरेका थिए।
थापाको उक्त अभिव्यक्ति लगत्तै रास्वपाका नेता मनिष खनालले नियमापत्ति जनाउँदै आपत्ति प्रकट गरेका थिए। उनले संसद्मा एउटा दलले अर्को दलमाथि यस्तो अमर्यादित र निराधार आरोप लगाउनु संसदीय मर्यादा विपरीत हुने भन्दै उक्त भनाइ रेकर्डबाट हटाउन माग गरेका थिए। रास्वपाको माग र सदनको वातावरणलाई मध्यनजर गर्दै सभामुख अर्यालले थापाका ती शब्दहरू संसद्को आधिकारिक रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।