दोस्रो पटक पनि स्थगित भयो संसद बैठक, बालेन उपस्थित भएर जवाफ दिनुपर्ने विपक्षीको अडान
सभामुखले पुनः १५ मिनेटका लागि गरे बैठक स्थगित
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
459
Shares
काठमाडौँ । विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभाको बैठक बुधबार दोस्रो पटक पनि स्थगित भएको छ। १५ मिनेटका लागि स्थगित भएर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को उपस्थितिको माग गर्दै अवरोध जारी राखेपछि सभामुखले पुनः १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन अनुपस्थित भएको भन्दै विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई छलफलको प्रस्ताव पेश गर्न समय दिएपछि आक्रोशित बनेका विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उभिएर बिरोध जनाएका थिए।
विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण विषयमा कार्यकारी प्रमुख (प्रधानमन्त्री) स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका छन्। उनले प्रधानमन्त्रीको उपस्थिति विना छलफलमा भाग लिन नसकिने स्पष्ट पारेपछि विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए।
सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाउन र बैठक सुचारु गर्न पटक-पटक आग्रह गरे पनि विपक्षी दलहरूले त्यसलाई स्वीकार गरेनन्। विपक्षीको नाराबाजी र अवरोध कायमै रहेपछि सदनको वातावरण थप तनावपूर्ण बनेको छ।