नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक समेट्न एमाले सांसद ठगुन्नाको माग
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
546
Shares
काठमाडौँ । नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दालाई स्पष्ट रूपमा समेट्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले अतिक्रमित भूमिमा नेपालको स्वामित्व स्थापना गर्न ठोस कूटनीतिक पहलको आवश्यकता रहेको बताए
। सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदी पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग भएको स्मरण गराउँदै उनले भारतले झन्डै ४०० वर्ग किलोमिटर नेपाली भूमि अतिक्रमण गरी सैनिक ब्यारेक राखेको र सोही क्षेत्रमा सडक निर्माण गरेर चीनसँग व्यापार सुरु गर्न लागेकोमा सरकारको ध्यानाकर्षण गराए। भारतीय विदेश मन्त्रालयको हालैको भनाइले पनि सन् १९५४ अघि सो क्षेत्र नेपालकै हकभोगमा रहेको पुष्टि गरेको दाबी गर्दै उनले राष्ट्रिय स्वाधीनता जोगाउन सीमा क्षेत्रका जनतालाई राज्यको मूलधारमा जोड्नुपर्नेमा जोड दिए।
भारतीय पक्षले सीमावर्ती आफ्ना नागरिकलाई सडक, रोजगारी र सस्तो खाद्यान्न उपलब्ध गराउँदा नेपाली नागरिक भने महँगी र बाटोको अभावमा भारतीय भूमि प्रयोग गर्न बाध्य भएको तितो यथार्थ उनले सुनाए। लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई सीमा विवादका रूपमा मात्र उल्लेख गरिनु अपूर्ण रहेको तर्क गर्दै उनले यसलाई भारतद्वारा बल प्रयोग गरी कब्जा गरिएको भूमिको रूपमा स्वीकार गर्दै स्वामित्व फिर्ताको स्पष्ट प्रतिबद्धता आउनुपर्ने माग गरे।
यसका साथै दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङ्ग्रु र टिङ्कर जोड्ने सडकको बजेट भारी मात्रामा कटौती गरिएकोमा उनले कडा असन्तुष्टि व्यक्त गरे। आर्थिक वर्ष २०७८/७९ मा २२ करोड ५० लाख विनियोजन गरिएको तुसारपानी–टिङ्कर–लिपुलेक सडकको बजेट हाल घटाएर ३ करोड ३० लाखमा सीमित गरिएको भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए। उनले सरकारलाई दार्चुलाबासीको भावना र राष्ट्रिय अखण्डताप्रति संवेदनशील बन्न आग्रह गर्दै बजेटमा पर्याप्त स्रोत सुनिश्चित गर्न जोडदार माग समेत गरे।