प्रधानमन्त्रीले विश्वविद्यालय समान संसद् बङ्क हाने– सचेतक राई [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
437
Shares
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र साहमाथि दुई तिहाइ सङ्ख्याको आडमा संसद्लाई कमजोर बनाएको र लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरेको गम्भीर आरोप लगाएका छन्।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित भएपछि कांग्रेसले कडा विरोध जनाउँदै प्रधानमन्त्री संसद्प्रति जिम्मेवार नभएको टिप्पणी गरेको हो। सचेतक राईले सत्तापक्षका सांसद मनिष झाको अघिल्लो अभिव्यक्तिलाई उद्धृत गर्दै संसद् गुरुकुल र विश्वविद्यालयजस्तो हुनुपर्नेमा जोड दिए। उनले संसद् एउटा चिया चौतारी नभएको र यहाँ मन लागे आउने र मन लागे जाने गर्न नपाइने बताउँदै आज स्वयं प्रधानमन्त्रीले नै यो गुरुकुल र विश्वविद्यालयलाई 'बङ्क' हान्न थालेको आरोप लगाए।
देशको कार्यकारी प्रमुखले संसद् जस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुःखद मात्र नभई संसदीय अभ्यासप्रतिको उदासीनता भएको उनको तर्क थियो। संसद् भवनभन्दा केही सय मिटरको दूरीमा रहेको कार्यालयमा प्रधानमन्त्री उपस्थित हुँदाहुँदै पनि नीति तथा कार्यक्रम जस्तो महत्त्वपूर्ण दस्तावेजमाथिको छलफलमा सहभागी नहुनुले संसद्को अपमान भएको उनले उल्लेख गरे।
नीति तथा कार्यक्रम देशको आगामी एक वर्षको रोडम्याप र प्राथमिकता भएकोले यसमा पर्याप्त छलफल हुन नपाउनु दुर्भाग्यपूर्ण रहेको राईले बताए। संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने व्यवस्था स्मरण गराउँदै उनले प्रश्नबाट भाग्ने प्रवृत्ति लोकतन्त्रका लागि शुभ सङ्केत नभएको दाबी गरे। सचेतक राईले सभामुख डोलप्रसाद अर्याललाई प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन पुनः रुलिङ गर्न जोडदार माग गर्दै ध्यानाकर्षण समेत गराए।