सरकार संसद र संविधानप्रति उत्तरदायी बन्नुपर्नेमा महरको जोड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
359
Shares
काठमाडौँ । नेकपा एमालेका सांसद ऐनबहादुर महर ले संसद र संविधानप्रति सरकार उत्तरदायी बन्नुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था शहीदहरूको बलिदान र संघर्षबाट प्राप्त भएको उल्लेख गरे ।
महरले वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा अन्य कुनै तन्त्र विकास गर्न खोजिरहेको हो भन्ने प्रश्न उठाए ।
उनले भने, ‘यो सदन नेपाली जनताको ठूलो संघर्षको उपज हो। अहिले हाम्रो देशमा जारी संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था तिनै शहीदहरूको बलिदानी रगत र संघर्षबाट प्राप्त भएको चिज हो। अहिलेको सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ? संविधानमा व्यवस्था भएबमोजिमको शासन प्रणाली अवलम्बन गरिरहेको हो कि अरू कुनै शासन प्रणाली ? अरू कुनै तन्त्र विकास गरिरहेको हो ? प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रभन्दा पनि कतै ‘बालेन तन्त्र’ पो विकास गर्न लागेका हुन् कि भन्ने आम प्रश्न र जिज्ञासा चलिरहेको छ। किनभने उहाँले पटक-पटक संसदलाई उपेक्षा गर्नुभएको छ। पटक-पटक संसदलाई अपमान गर्ने काम भएको छ । यसप्रति हाम्रो गम्भीर चासो र चिन्ता हो ।’
महरले सरकार संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिँदै सरकारको मुख्य नीति तथा कार्यक्रम प्रस्तुत हुने बेला प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो कुरामा हामी दृढ छौं । सरकार संसद र संविधानप्रति उत्तरदायी बन्नुपर्दछ। संसदप्रति जवाफदेही बन्नुपर्दछ । त्यो जवाफदेही बन्ने बेला भनेको सरकारको मुख्य नीति तथा कार्यक्रमको बेला हो। यही बेला प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने हो ।’