नीति तथा कार्यक्रम समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट गन्तव्य हुनुपर्छ: मुख्य सचेतक दुलाल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
538
Shares
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारको नीति तथा कार्यक्रमले संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोक्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले सुशासन र सार्वजनिक सेवा प्रवाहका लक्ष्य सकारात्मक भए पनि यसको वैचारिक धरातल र कार्यक्रमिक आधार अझै स्पष्ट हुन नसकेको टिप्पणी गरे।
मुख्य सचेतक दुलालले मुलुकको वन क्षेत्र र खनिज सम्पदाको उपयोगमा सरकारको ध्यान नगएको प्रति ध्यानाकर्षण गराए। कार्बन ट्रेडिङ जस्ता बाह्य अवधारणामा मात्र अल्झिनु भन्दा स्वदेशमै रहेका युरेनियम, ग्रेनाइट, मार्बल, फलाम र पेट्रोलियम जस्ता बहुमूल्य खनिज स्रोतको उत्खनन र उपयोगले राष्ट्रिय अर्थतन्त्रलाई वास्तविक रूपमा मजबुत बनाउने उनको तर्क छ। आन्तरिक उत्पादन र निर्यातलाई प्राथमिकता नदिई स्थिर अर्थतन्त्र निर्माण हुन नसक्ने दाबी गर्दै उनले १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठोस आधार आवश्यक पर्ने बताए।
कृषि क्षेत्रका व्यावहारिक समस्या समाधानका लागि उनले बाँदर र बँदेल जस्ता वन्यजन्तुले पुर्याउने क्षतिको उचित क्षतिपूर्ति र बीमाको व्यवस्था गर्न माग गरे। किसानलाई खेतीतर्फ प्रोत्साहित गर्न वन्यजन्तु नियन्त्रणका लागि कानुनी व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ।
यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि संविधानअनुसार प्रदेश सरकारलाई शान्ति सुरक्षाको जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए। यसका लागि तत्काल ‘प्रदेश प्रहरी समायोजन’ को प्रक्रिया अघि बढाउन उनले सरकारलाई आग्रह गरे। सामान्य कानुनी र संरचनागत सुधारले मात्र ठूला लक्ष्य प्राप्ति सम्भव नहुने भन्दै उनले सरकारलाई थप गम्भीर बन्न सुझाव दिए।