बालेन सरकारको नीति तथा कार्यक्रममाथि छलफल, ३५ संशोधन प्रस्ताव दर्ता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
478
Shares
काठमाडौँ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल औपचारिक रूपमा शुरू भएको छ। बैठकको प्रारम्भमा सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रममाथि ३५ वटा संशोधनका सूचना प्राप्त भएको जानकारी दिएका छन्। हाल संशोधनकर्ता सांसदहरूले नीति तथा कार्यक्रमका विभिन्न पक्षमा आफ्ना धारणा र सुझावहरू राख्ने क्रम जारी छ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै सरकारको यो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्। आफ्नै सरकारको भावी कार्यदिशामाथि छलफल हुँदा समेत प्रधानमन्त्री संसद्मा उपस्थित नभएकोमा विपक्षीले आलोचना गरेका हुन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सुरुका ५० मिनेट मात्र बसेर बाहिरिएका प्रधानमन्त्री बालेन त्यसपछि संसद्का कुनै पनि बैठकमा पुगेका छैनन्। महत्त्वपूर्ण संवैधानिक प्रक्रिया र नीतिगत छलफलमा देशको कार्यकारी प्रमुखको भौतिक उपस्थिति हुनुपर्ने माग गर्दै विपक्षी सांसदहरूले सदनको गम्भीरता कायम राख्न सभामुखको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्रीको यो बेवास्ताले संसदीय गरिमा र जवाफदेहितामाथि प्रश्न उठाएको विपक्षीको तर्क छ।