बाँदर मार्नुपर्ने र सलामी दिनुपर्ने अभिव्यक्तिप्रति आशिकाको आपत्ति [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
386
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसद्मा व्यक्त गरेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आपत्ति प्रकट गरेकी छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद राईले बाँदरले आम नागरिकलाई निकै दुःख दिएको भन्दै तिनलाई मार्न पाउनुपर्ने कानुनी व्यवस्थाको माग गरेका थिए।
संसद्मा बोल्दै सांसद राईले भनेका थिए, “आज पनि धेरै माननीयज्यूहरूले कुराहरू उठाउनुभयो, बाँदर–बँदेलहरूले आज पनि जनताहरूलाई दुःख दिइरहेका छन्। यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौँ? यसको हामीले के लेख्दै छौँ यसको विषयमा। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस्, बाँदरलाई सलामी देऊ। यदि होइन भने हामीलाई दुःख दिइरहेको छ।”
सांसद राईको उक्त भनाइ लगत्तै रास्वपा सांसद आशिका तामाङले आफ्नो सिटबाट उठेर सो अभिव्यक्तिको कडा विरोध गरेकी हुन्। वन्यजन्तुको सुरक्षा र संसदीय मर्यादाको ख्याल नगरिएको भन्दै उनले उक्त संसद्को रेकर्डबाटै हटाउनुपर्ने माग गरिन्।
आफ्नो धारणा राख्दै सांसद तामाङले भनिन्, “उहाँले बाँदरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभएको छ, त्यो फिर्ता मात्र होइन, संसद्को रेकर्डबाट पूरै काटेर फालिनुपर्छ। उहाँले सलामी दिनुपर्ने भन्नुभयो, यो शब्द पनि पूर्णतः आपत्तिजनक छ।”
आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहेको आजको बैठकमा वन्यजन्तु र मानवबीचको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर सांसदहरूबीच संसद्मै भनाभन भएको हो।