राष्ट्रिय गौरवका आयोजना र झोलुङ्गे पुल निर्माणमा बजेट केन्द्रित गर्ने सरकारको तयारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
876
Shares
काठमाडौँ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरिएको छ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयले आगामी योजनाबारे जानकारी गराएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले मन्त्रालयले ऊर्जा, जलस्रोत र सिँचाइ गरी तीन प्रमुख कार्यक्षेत्रमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।
जल तथा मौसम विज्ञान विभाग भने अब कृषि तथा वन मन्त्रालयअन्तर्गत गइसकेको जानकारी दिँदै उनले सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट तथा योजना प्रस्ताव गरिएको स्पष्ट पारिन्।
उनका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले ४३ अर्ब रुपैयाँको बजेट सिलिङ पाएको थियो भने आगामी आर्थिक वर्षका लागि पनि सोही बराबरको सिलिङ तय गरिएको छ।
राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजनालाई प्राथमिकता दिँदै अर्थ मन्त्रालयसँग थप बजेट माग गरिएको र छलफलपछि बजेट सिलिङ ४८ अर्ब १९ करोड रुपैयाँसम्म पुगेको उनले जानकारी दिइन्।
दवाडीले ऊर्जा क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण मुख्य निकायका रूपमा रहेको तथा जलस्रोत तथा सिँचाइ विभागमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताइन्।
मन्त्रालयअन्तर्गत सिँचाइतर्फका छ ओटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा रहेको पनि उनले उल्लेख गरिन्।
यसैगरी, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जनआन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनःनिर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।
उनले विकट पहाडी जिल्लामा झोलुङ्गे पुल निर्माण तथा मर्मतलाई प्राथमिकता दिइएको जानकारी दिँदै संघीय सरकारले १२० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माणलाई अघि बढाएको बताए।
उनका अनुसार चालु आर्थिक वर्षभित्र तीन तहका सरकारको समन्वयमा ५० ओटा झोलुङ्गे पुल मर्मत तथा तीन सय ओटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ।