भन्छन्– ‘नयाँको नाममा संसद्को औचित्य नै समाप्त पार्न खोजियो’
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
934
Shares
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै कडा आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको जारी छलफलमा भाग लिँदै उनले सरकारले नयाँ र परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले आफू संसद्मा बोल्न बाध्य हुनुपरेको स्पष्ट पारे। सांसद सिंहले संसदीय व्यवस्थामा संसद्मा बजेट वा प्रि-बजेटबारे छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने स्थापित परम्परा रहेको र त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्ने बताए। अर्थमन्त्री अनुपस्थित रहेर सरकारले संसद्को औचित्य नै समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप समेत उनले लगाए।
संसद्मा आक्रोशित रूपमा प्रस्तुत हुँदै सांसद सिंहले नयाँ आउँदैमा वा परम्परा तोड्ने नाममा सबै कुरा भत्काउने छुट सरकारलाई नभएको उल्लेख गरे।
बैठकमा उनले भने, “वास्तवमा परम्परा तोड्ने नाममा सबै परम्परा तोडियो। बजेट विनियोजन प्राथमिकताको छलफल हुँदाखेरि अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम थियो। परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन, परराष्ट्र मन्त्रालयको बजेट पनि त्यहीँ जान्छ। हामी पाँच–छ चोटीको सांसद पनि सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य समाप्त हुन्छ, पार्लियामेन्ट्री सिस्टम समाप्त हुन्छ।”
नेपालको संविधानले संसदीय व्यवस्था अङ्गीकार गरेको स्मरण गराउँदै उनले संसद्मा सरकारसँग प्रश्न गरिने र जनताका समस्या राखिने बताए। उनले अगाडि भने, “यो बीस वर्षको कार्यकालमा म पहिलो चोटी देख्दैछु कि अर्थमन्त्री नभएर पनि यो बजेट विनियोजन विधेयकको छलफल चल्दैछ। यो कस्तो परम्परा सुरुवात हुँदैछ? नयाँको नाममा सबै भत्काउने होइन। त्यसो भए सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ, मन्त्री पद पनि भत्काऔँ, सबै चिज चेन्ज गरौँ न। किनभने जति व्यस्त भए पनि त्यो औचित्यपूर्ण हुनुपर्छ। अति भएपछि म बोल्न बाध्य भएँ, त्यही भएर बोलेको हो।”
आफू छ पटकसम्म सांसद भइसकेको अनुभव सुनाउँदै डा. सिंहले संसद्मा बजेट जस्तो गम्भीर विषयमा छलफल हुँदा अर्थमन्त्री नै गायब भएको घटना आफ्नो संसदीय जीवनमै पहिलो पटक भएको भन्दै आक्रोश व्यक्त गरे।