एमाले सांसदले भने- एक हप्ताभित्र बाँदर आतङ्क नियन्त्रण नभए संसद् चल्न दिँदैनौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
298
Shares
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले मुलुकभर बढ्दै गएको बाँदरको आतङ्क नियन्त्रणका लागि सरकारले एक हप्ताभित्र ठोस कदम नचाले संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले यस्तो चेतावनी दिएका हुन्।
विभिन्न जिल्लाका सांसदहरूले यस समस्याबारे बारम्बार संसद्मा कुरा उठाउँदा पनि सरकार गम्भीर नभएको भन्दै उनले आउँदो ७ दिनभित्र उचित कदम नचाले संसद् बैठक सञ्चालनमा कठिनाइ हुने स्पष्ट पारे।
संसद्मा बोल्दै सांसद राईले बाँदरका कारण गाउँ–गाउँमा जनजीवन कष्टकर बनेको र किसानहरू ठूलो मारमा परेको उल्लेख गरे। उनले प्रश्न गर्दै भने, "यदि कोही मानिसले बदमासी गर्यो भने उसलाई पुलिसले बाँधेर लैजान्छ, जेलमा थुनिन्छ। तर आज बाँदरले सयौँ मानिसहरूलाई बसाइँ उठाइसक्यो। सयौँ नागरिकले आफ्नो पसिनाको उब्जनी खान पाएका छैनन्। यस्तो गम्भीर विषयमा सरकार किन गम्भीर (सिरियस) हुँदैन?"
उनले सरकारले गर्ने थुप्रै कामहरूमध्ये जनताको दैनिक जीवनसँग जोडिएको बाँदर नियन्त्रणको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। यदि यसलाई समयमै नियन्त्रण गर्न नसकिए ग्रामीण अर्थतन्त्र र जनजीवनको विकासमा ठूलो धक्का लाग्ने उनको भनाइ थियो।
सांसद राईले सरकारलाई तत्काल कदम चाल्न ध्यानाकर्षण गराउँदै ७ दिने अल्टिमेटम दिएका छन्। "अब सात दिनभित्रमा बाँदरको समस्या समाधानका लागि उचित प्रक्रिया सुरु भएन भने, चाहे कानुनी होस् वा अन्य कुनै माध्यमबाट, सरकारले यसलाई नियन्त्रणमा लिएन भने सबै सांसदहरूले यस विषयमा कडा रूपमा कुरा उठाउने छन् र संसद् चल्न गाह्रो हुनेछ," राईले चेतावनी दिए।
उनले बाँदरको आतङ्कबाट नागरिकलाई छुटकारा दिन र उनीहरूको अन्नबाली तथा जिउज्यानको रक्षा गर्न सरकारले जुनसुकै कदम चाल्न पनि पछि पर्न नहुनेमा जोड दिएका छन्।