arrow

प्रतिनिधि सभा

ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततिको नागरिकता निरन्तरताका लागि संविधान संशोधनको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
purna-limbu.jpg

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिको नेपाली नागरिकताको निरन्तरताका लागि संविधान संशोधन गर्न माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्ततिले नेपाली नागरिकताको निरन्तरता (निरन्तर नेपाली नागरिक रहन पाउने अधिकार) का लागि शान्तिपूर्ण रूपमा अभियान सञ्चालन गरिरहेको स्मरण गराए। सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लागेको वर्तमान सन्दर्भलाई उल्लेख गर्दै उनले यसै पटक गोर्खाहरूको यो ऐतिहासिक मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

सांसद लिम्बूले नेपालको संविधानको धारा १४ मा आवश्यक उपधारा थप गरी बेलायती नागरिकता लिएका गोर्खा सैनिक र उनीहरूका सन्तानको वंशजको नेपाली नागरिकता कायम राख्ने कानुनी व्यवस्था मिलाउन माग गरे।

संसद्मा बोल्दै उनले भने, ‘ब्रिटिस गोरखा सैनिक र उनीहरूका सन्तानको नैसर्गिक अधिकारलाई संविधानमा सुनिश्चित गर्न म सरकारसमक्ष जोडदार माग गर्दछु। देशका लागि रगत बगाएका गोर्खाहरूलाई गैरआवासीय नागरिकता मात्र दिएर उनीहरूको वंशजको अधिकार खोस्न मिल्दैन।’

नागरिकताको मुद्दाका साथै सांसद लिम्बूले वर्षौँदेखि समान पेन्सन र अन्य सेवा सुविधाको माग गर्दै आन्दोलनरत भूपू सैनिकहरूको समस्या समाधानका लागि सरकारले प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने बताए। बेलायत सरकारसँग भइरहेको प्राविधिक तहको वार्ता र कूटनीतिक संवादमा नेपाल सरकार बढी आक्रामक र सक्रिय रूपमा प्रस्तुत हुनुपर्नेमा उनको जोड थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ