प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा नियमावली उल्लङ्घन भएको छैन: सभामुख अर्याल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
551
Shares
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा प्रतिनिधि सभा नियमावली उल्लङ्घन नभएको स्पष्ट पारेका छन्। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसदहरूले नियम मिचिएको भन्दै आपत्ति जनाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
बैठकको सुरुमा विशेष समय लिँदै विपक्षी दलका सांसद युवराज दुलालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ (१) बमोजिम प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभन्दा तीन दिन अगावै लिखित जानकारी दिनुपर्ने र प्रश्नोत्तरका लागि एक घण्टा समय छुट्याइनुपर्ने प्रावधान मिचिएको भन्दै नियमापत्ति जनाएका थिए। उनले संसद्मा संविधान र नियमावली मिचिनु राष्ट्रका लागि दुःखद भएको टिप्पणी समेत गरे।
त्यसैगरी, अर्का सांसद ऐन महरले पनि नियमावलीको नियम ५६ को उपनियम ३ र ४ को हवाला दिँदै प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि तोकिएको कानुनी प्रक्रिया पालना नगरिएको भन्दै नियमापत्ति दर्ता गराएका थिए। संविधान र नियमावलीभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै उनले लिखित प्रश्नहरू लिने र सोही अनुसार जवाफ दिने परम्परा कायम राख्न सभामुखको गम्भीर ध्यानाकर्षण गराए।
सांसदहरूको नियमापत्तिपछि जवाफ दिँदै सभामुख अर्यालले सांसदहरूलाई नियमावलीको नियम ५६ पुनः अध्ययन गर्न आग्रह गरे। विपक्षी बेन्चका सदस्यहरूले निरन्तर उठाएको माग बमोजिम नै प्रधानमन्त्री सदनमा उपस्थित भई उत्तर दिन तयार रहेको उनले स्पष्ट पारे।
सभामुख अर्यालले भने, “विपक्षी बेन्चका माननीय सदस्यहरूले निरन्तर कुरा उठाइरहनुभएको र प्रधानमन्त्री ज्यू पनि रोष्टममा उभिएर जवाफ दिन तयार हुनुभएको अवस्थामा नियमावलीले तीन दिन अगावै लिखित प्रश्न सोध्नुपर्ने बाध्यकारी व्यवस्था यस सन्दर्भमा आकर्षित हुँदैन।”
सभामुखले यस्तो स्पष्टीकरण दिँदै सांसदहरूलाई आ–आफ्नो स्थानमा बस्न आग्रह गरेर बैठकको प्रक्रिया अगाडि बढाएका थिए। विपक्षी दलका सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयं तयार रहेको भन्दै उनले सदनको कारबाहीलाई निरन्तरता दिएका छन्।