सम्पत्ति छानबिन आयोगलाई कांग्रेसको शतप्रतिशत सहयोग रहन्छ : गगन थापा [भिडियो]
म आफैँ विवरण बुझाउँछु
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
248
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारद्वारा गठित उच्चस्तरीय सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर पूर्ण रूपमा सहयोग गर्ने घोषणा गरेका छन् । बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले आफू मात्र नभई कांग्रेसका अन्य नेताहरूले समेत आफ्नो सम्पत्ति विवरण बुझाएर सरकारको कदमलाई सघाउने स्पष्ट पारे ।
गत वैशाख २ गते वालेन्द्र साह नेतृत्वको सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेको थियो ।
सभापति थापाले मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको संविधान तथा कानुनसम्मत हरेक प्रयासमा नेपाली कांग्रेसको शतप्रतिशत सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक पद धारण गरेका नेता तथा पदाधिकारीहरूको सम्पत्ति छानबिनको विषय छिटोभन्दा छिटो निष्कर्षमा पुगोस् भन्ने कांग्रेसको चाहना रहेको उनको भनाइ थियो ।
यद्यपि थापाले आयोग गठनको प्रक्रिया र यसको कार्यादेशको स्वच्छतामाथि भने भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै सरकारलाई सचेत गराए । "आयोग जसरी गठन भएको छ र जुन तरिकाले सरकारको कार्यादेशमा यो अगाडि बढिरहेको छ, भोलि यसको निष्पक्षता र स्वच्छतामाथि प्रश्न नआओस्," उनले भने, "यसमा सरकारको यथेष्ट ध्यान पुगेको छैन, पुगोस् भन्ने हाम्रो आग्रह छ ।"
सभापति थापाले राष्ट्रिय राजनीतिमा संलग्न केही नेता र न्यायमूर्तिहरूले सम्पत्ति विवरण नबुझाउने भनी दिएको अभिव्यक्तिप्रति कांग्रेसले कुनै टिप्पणी नगर्ने प्रस्ट पारे । तर, कांग्रेस भने यो प्रक्रियाबाट भाग्ने पक्षमा नरहेको उनले दृढता व्यक्त गरे ।
"गत भदौको नवयुवाहरूको आन्दोलनको मुख्य विषय कुशासनको अन्त्य र सुशासनको प्रारम्भ भन्ने नै थियो, अबको केही वर्षसम्म नेपालको मुख्य एजेन्डा पनि यही नै हो," थापाले सम्बोधनका क्रममा भने, "हाम्रो पार्टीको प्रतिज्ञापत्रमा पनि सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउने प्रतिबद्धता थियो । अहिले रास्वपाको सरकार छ, उहाँहरूले यस्तै एउटा आयोग बनाउनुभएको छ । केहीले विवरण बुझाउँदैनौँ भन्नुभएको छ, त्यसमा हाम्रो टिप्पणी छैन । तर नेपाली कांग्रेसको तर्फबाट म आफैँ र अन्य सबै साथीहरूले आफ्नो सम्पत्ति विवरण बुझाउनुहुनेछ । हामी यो प्रक्रिया टुङ्गिनुपर्छ भन्ने ठान्छौँ ।"