पश्चिम नवलपरासीमा धान रोपाइँ शुरू, मल र श्रमिकको भने अभाव
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
356
Shares
काठमाडौँ । पश्चिम नवलपरासीका किसानहरूले यस वर्षको धान रोपाइँ शुरू गरेका छन्। गण्डक नहरमा समयमै पानी उपलब्ध भएपछि नवलपरासीको रामग्राम नगरपालिकासहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसानहरू यतिखेर खेतमा धान रोप्न व्यस्त भएका हुन्।
नहरको पानीका भरमा रोपाइँ गर्नुपर्ने बाध्यता रहेका कारण यस वर्ष पानी समयमै आएपछि किसानहरूले छिटो नै रोपाइँ थालेका हुन्। यद्यपि, धानखेतीका लागि आवश्यक रासायनिक मल र खेतीपातीका समयमा काम गर्ने जनशक्ति (श्रमिक) को अभावले भने किसानहरूलाई पिरोलिरहेको छ।
पाल्हीनन्दन–४ पाल्हीमा खेत रोपाइँ गरिरहेका किसान रामसिंह कुर्मीले नहरमा पानी आएपछि रासायनिक मलको अभाव भए पनि कुरेर बस्न नसकेर रोपाइँ थालेको बताए। कतिपय किसानको बीउ अझै सानै (छोटो) भए पनि पानी उपलब्ध भएकाले रोपाइँ शुरू गरिसकेका छन्।
किसान रामसिंह कुर्मीले भने, “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो। गत वर्ष पनि मल पर्याप्त नपाएर धान उत्पादन घट्छ कि भन्ने चिन्ता लागेको थियो, यस वर्ष पनि अवस्था त्यस्तै छ।”
बजारमा रोपाहार नपाउँदा कतिपय किसानहरू घरकै जनशक्ति मिलेर रोपाइँमा जुटेका छन्। अर्का स्थानीय किसान त्रिभुवन कुर्मीले बीउ छोटो भए पनि छिमेकी किसानहरूले रोप्न थालेको देखेपछि र पछि खेतमा ट्याक्टर जाने बाटो बन्द हुने डरले छोटो बीउ नै रोप्न थालेको जानकारी दिए। अहिले पश्चिम गण्डक नहरको उत्तर तथा दक्षिणतर्फका अधिकांश खेतहरूमा किसानहरू रोपाइँमा व्यस्त देखिन्छन्।
यस वर्ष गण्डक नहरमा पानी खोल्दा ३२ किलोमिटर लामो नहरको अन्तिम बिन्दुसम्म जम्मा ३६ घण्टाभित्रै पानी पुगेको छ। पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले समयमै नहर भरिएर पानी पुगेकाले किसानहरूले धान रोपाइँ गरेर लाभ लिन सकेको जानकारी दिए।