मार्तडी-कोल्टी सडकमा तटबन्ध निर्माण, पहिरोको त्रास अझै हटेन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
209
Shares
बाजुरा । मार्तडी-कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका-७ स्थित जिल्ली पहिरो नियन्त्रणका लागि तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ । करिब पाँच वर्षदेखि निरन्तर सक्रिय रहँदै आएको उक्त पहिरो रोकथामका लागि संरचनात्मक काम गरिएको हो ।
स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार पहिरोका कारण नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालय अझै पनि उच्च जोखिममै छ ।
वर्षातको समयमा प्रत्येक वर्ष विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ भने विद्यार्थीहरू असुरक्षित अवस्थामा पढ्न बाध्य छन् ।
यो सडक खण्ड बाजुरासहित सुदूरपश्चिमका चार स्थानीय तह र छिमेकी कर्णाली प्रदेशका हुम्ला तथा मुगु जाने मुख्य मार्गका रूपमा प्रयोग हुँदै आएको छ ।
वर्षाको समयमा बारम्बार पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएपछि स्थानीय तहले निरन्तर पहल गर्दै आएको जनाइएको छ ।
बडिमालिका नगरपालिका-७ का अध्यक्ष तथा नगर प्रवक्ता धर्मराज पाध्यायले वडाबाट पटक-पटक पालिका र प्रदेश सरकारसँग आग्रह गरेपछि तटबन्ध निर्माण कार्य अघि बढाइएको बताए । उनका अनुसार स्थानीय जनजीवन र यातायात सहज बनाउन यो कदम आवश्यक बनेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि जिल्ली पहिरो क्षेत्रको निरीक्षण गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
पूर्वाधार विकास कार्यालय साँफेबगरले करिब एक करोड २० लाख रुपैयाँ लागतमा तटबन्ध निर्माण सम्पन्न गरेको हो ।
अहिले संरचना निर्माण भए पनि जोखिम पूर्ण रूपमा अन्त्य नभएको र लक्ष्मी माध्यमिक विद्यालय अझै पनि पहिरोको जोखिममा रहेको स्थानीयले बताएका छन् ।