काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपको पाँचौं चरणको पहिलो खेलमा केन्या विरुद्ध नेपालले लगातार विकेट गुमाएको छ । नेपालले २६ ओभरमा ७१ रन जोड्दा छैटौं विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले छैटौं विकेटका रुपमा मेहबुब आलमलाई २ रनमा गुमाएको छ ।
पाँचौं विकेटका रुपमा विनोद भण्डारीलाई व्यक्तिगत ४ रनमा गुमाएको छ ।
त्यस्तै चौथो विकेटका रुपमा शरद भेषवाकरलाई व्यक्तिगत ३ रनमा गुमाएको छ । शरदले १७ बल खेल्दा मात्र ३ रन बनाएका हुन् ।
त्यस्तै तेस्रो विकेटका रुपमा सागर पुनलाई २३ बलमा व्यक्तिगत १० रनमा गुमाएको हो । नेपालले दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई व्यक्तिगत २७ रनमा गुमायो ।
उनले ५ चौकाको मद्धतले ३५ बलमा २७ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले राष्ट्रिय टिमका लागि डेब्यु गरेका २२ वर्षे युवा सुनील धमलालाई व्यक्तिगत ३ रनमा गुमाएको थियो ।
दीपेन्द्र सिंह ऐरी छन् । ऐरीले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
यता, कप्तान पारस खड्का, अविनाश कर्ण र आरिफ शेख भने बाहिरिएका छन् । पारसको यसै महिनाको सुरुमा पेटको शल्यक्रिया भएको थियो । उनी अभ्यास खेलका लागि भारत पनि गएका थिएनन् ।
यसैबीच युवा खेलाडी सुनील धमला र दीपेन्द्र सिंह ऐरीले यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका छन् भने पुराना खेलाडी मेहबुब आलम टिममा फर्केका छन् । वर्षाले गर्दा ढिला गरी सुरु भएको खेल ३८ ओभरमा झारिएको छ ।
बिहान ९ः१५ देखि हुनुपर्ने खेल वर्षाले गर्दा ढिला गरी सुरु भएको हो । दर्शक भने बढ्दै गएका छन् । ११ हजार बढी टिकट बिक्री भएको जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसोपछिमात्र मौसममा सुधार हुने बताइरहँदा फेरि वर्षा हुने सम्भावना टरेको छैन ।
आज र सोमबार गरी दुई खेल खेल्न केन्या नेपालमा आएको हो । शीर्ष चारभित्र अटेर विश्वकप छनोटमा छानिन पनि नेपाललाई यो खेल जित्नैपर्ने छ ।
वर्षाले खेल हुन नसके सबैभन्दा बढी घाटा नेपाललाई हुनेछ । आठ टोली सहभागी प्रतियोगिताका शीर्ष चारमा पुग्ने टिमले विश्वकप छनोट खेल्न पाउने भएकाले ६ अंकसहित छैटौं स्थानमा रहेको नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । त्यस्तै केन्या ८ अंकसहित पाँचौं स्थानमा छ ।