ओल्ड ट्राफोर्ड । इङलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले कठिन बराबरी गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले एभर्टनसंग १–१ को बराबरी खेलेको हो ।
हार नजिक पुगेको अवस्थामा इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै ज्लाटान इब्राहिमोभिचले म्यानचेष्टर युनाइटेडको उद्धार गरेका हुन् ।
ल्युक शाको प्रहारलाई एभर्टनका एश्ले विलियम्सले हातले रोकेपछि उनलाई रेफ्रीले रातो कार्ड देखाए । त्यसपछि पाएको पेनाल्टीलाई ज्लाटानले गोलमा परिणत गरेका हुन् ।
ज्लाटान तीन खेलको प्रतिवन्धपछि मैदानमा उत्रिएका हुन् । उनको यो सिजनको २७ औं गोल हो । यही गोलले नै म्यानचेष्टर म्यानेजर होजे मौरिन्होको नाक जोगिएको छ ।
म्यानचेष्टरले अपेक्षित खेल्न नसक्दा मौरिन्हो पनि आलोचित बन्दै गएका छन् । यसअघि खेलको २२ औं मिनेटमा एभर्टन कप्तान फिल जाजिएल्काले गोल गर्दै अग्रता बनाएका थिए ।
लिगका अन्य खेलमा बर्नलीले स्टोक सिटीलाई १–० ले, लेस्टर सिटीले सन्डरल्याण्डलाई २–० ले, वाटफोर्डले वेष्टब्रोमविच आल्बियनलाई २–० ले पराजित गर्यो ।
लिगमा ६९ अंकसहित चेल्सी शीर्ष स्थानमा छ । ६२ अंकबाट टोटनह्याम हटसपर दोस्रो, ५९ अंकबाट लिभरपुल तेस्रो, ५८ अंकबाट म्यानचेष्टर सिटी चौथो, ५४ अंकबाट म्यानचेष्टर युनाइटेड पाँचौं र ५१ अंकबाट आर्सनल छैटौं स्थानमा छ ।