काठमाडौं । फरक सुविधा र सुरक्षाका साथ नेपाली बजारमा कम्पोजिक ग्यास सिलिण्डरको विक्री वितरण सुरु गरिएको छ । आईतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच क्लासिक ट्रेड इन्टरनेशनल प्रालिले कम्पोजिक ग्यास सिलिण्डर सोमबारदेखि नेपाली बजारमा पनि आएको जानकारी दियो ।
परम्परागत ग्यास सिलिण्डरको तुलनामा केही महंगो भएपनि सुरक्षाको तथा प्रयोगको हिसावले समेत अन्य सिलिण्डर भन्दा सुविधायुक्त रहेको कम्पनीको दाबी छ । नेपाली मूल्य अनुसार लगभग १२ हजारको हाराहारीमा पर्ने सो सिलिण्डर पड्किने सम्भावना नै नरहेको कम्पनीको दाबी छ ।
अहिले ५ किलोग्राम, १४ दशमलव २ किलोग्राम तथा १९ किलोग्रामका सिलिण्डरहरु बजारमा ल्याउने तयारी भईरहेको बताउने कम्पनीले अहिले भने जम्मा १४ दशमलव २ केजीको सिलिण्डर मात्र बजारमा पठाएको छ । अबको केही दिनमा नै अन्य तौलका सिलिण्डरहरु पनि बजारमा पठाईने कम्पनीले जनाएको छ ।
अहिले देशभरी रहेको भाटभटेनी सुपरमार्केटका डिलरहरुमा कम्पोजिक सिलिण्डर पाउन सकिने कम्पनीले जनाएको छ ।
कम्पोजिक सिलिण्डरको मूलभूत विशेषताहरुलाई विक्रेता कम्पनीले निम्न विशेषताहरुले चिनाएको छ ।
- विष्फोटन हुनबाट शतप्रतिशत सुरक्षित
- हलुका र भरपर्दो
- पारदर्शी एवं ग्यासको मात्रा सजिलै देख्न सकिने
- उच्च प्रविधिबाट बनेको
- घामपानीबाट खिया नलाग्ने र खिईएर नजाने
- आकर्षक रंग र आकारमा उपलब्ध
- पुनः प्रयोग गर्न सकिने कच्चापदार्थबाट बनेको
- मर्मत संभारमा लागत कम
- मजवूत बनावट
- युनिभर्सल भल्भ जडान भएको
- अन्तराष्ट्रिय गुणस्तर प्राप्त
- नेपाल सरकार गुणस्तर तथा नापतौल विभाग समेतबाट स्वीकृत एवं प्रमाणीकरण भएको