मन्त्रिपरिषद्को निर्णय : फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई
करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च र पोशाक भत्ता
प्रकाशित २०७४ वैशाख २१ बिहिबार
372
Shares
काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग ‘फास्ट ट्रयाक’ निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।
विहिबार बसको मन्त्रिपरिषद् बैठकले ‘फास्ट ट्रयाक’ निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो ।
बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्ताव स्वीकृत गरेको छ ।
पुष्पराम केसी, नारायणबाबू थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै, नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय पनि बिहीबारको बैठकले गरेको छ ।
बैठकले साहित्यकार एवं संस्कृतिविद् सत्यमोहन जोशीलाई वाङ्मय शताब्दी पुरुषको सम्मान प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदले सामान्य प्रशासन मन्त्री केशवकुमार विष्टको संयोजकत्वमा संघीय प्रशासनिक पुनःसंरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।