arrow

उद्योगमन्त्री जोशीले पूरा गरे बाचा, खोले नेपाल औषधी उद्योग 

logo
प्रकाशित २०७४ वैशाख २४ आइतबार
nabindra-raj-Joshi-congress.jpg

काठमाडौं । नेपाल औषधी उद्योगले आईतबारबाट पुनः औषधी उत्पादन सुरु गरेको छ । केही समय अघिदेखि बन्द रहेको र नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधी उद्योग लिमिटेडले आईतबारदेखि नै उत्पादन सुरु गरेको उद्योग मन्त्री नविन्द्रराज जोशीका प्रेस सल्लाहकार प्रदीप चापागाईँले जानकारी दिए । 

उद्योग मन्त्री जोशीले आफ्नो कार्यभार सुरु गरे लगत्तै सरकारी स्वामित्वमा रहेर विभिन्न कारणले विगतमा बन्द रहेका सरकारी उद्योगहरुलाई प्राथमिकताका आधारमा पुन संचालन गर्ने नीति लिएसँगै नेपाल औषधी उद्योगले पुनर्जिवन पाएको हो । 

उद्योग मन्त्री जोशीकै पहलमा नेपाल सरकारले औषधी उत्पादनको लागि विश्व स्वाथ्य संगठनले तय गरेको कुशल निर्माण विधि शुरु गर्नको लागि नेपाल सरकारको तर्फबाट १४ करोड ६५ लाख रुपैया ऋण स्वरुप नेपाल औषधी लिमिटेडलाई उपलब्ध गराउने निर्णय गरिएको थियो । जस अन्तर्गत पहिलो किस्ता वापत ६ करोड ४८ लाख रुपैंया निकासा भई नेपाल औषधी लिमिटेडले पहिलो चरणमा आजबाट जीवन जलको उत्पादन शुरु गरेको छ । 

आगामी ३ महिना भित्र सिटामोल लगायतका ट्यावलेटहरु उत्पादन गरी बजारमा पुर्‍याउने लक्ष्यका साथ नवीकरण र आवश्यक मेशिनहरु खरिद गर्ने कार्यको ठेक्का सम्झौता गरी द्रूत स्तरमा कार्य अगाडि बढिरहेको छ । 

दोस्रो चरणमा नेपाल औषधी लिमिटेडले अत्यावश्यक र बजारमा खपत बढि भएका १५ भन्दा बढी प्रकारका नयाँ औषधी समेत उत्पादन गर्ने लक्ष्य लिई सो अनुरुप कार्य अगाडि बढाएको छ । यसैगरी तेस्रो चरणमा उद्योगले क्याप्सुल, पेनिसिलिन गु्रपका औषधी, झोल तथा मलमहरु उत्पादन गर्ने शाखा समेत संचालनमा ल्याई स्लाईन जस्ता अति आवश्यक औषधीहरुको उत्पादनलाई समेत अगाडि बढाउने प्रष्ट कार्यसूचीका साथ अगाडि बढिरहेको छ । 

राष्ट्रिय स्वास्थ्य नीति २०७१ को उद्धेश्य अनुरुप स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी नेपाल सरकारबाट निशुल्क वितरण गरिने ७० प्रकारका औषधी तथा नेपाल सरकारले सूचीकृत गरेका अत्यावश्यक औषधीहरु नेपाल औषधी लिमिटेडबाट उत्पादन गरी नेपाल सरकारलाई उपलब्ध गराउने गरी कार्य योजना अगाडि बढाउने दिशामा समेत काम भईरहेको जानकारी मन्त्रालयले गराएको छ। 

नेपालमा आधुनिक औषधी उत्पादन सरकारबाटै गर्ने उद्धेश्यका साथ कम्पनी ऐन २०२१ अन्तरगत नेपाल औषधी लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । विगतमा नेपाल औषधी उद्योगले १२० थरिका औषधीहरु उत्पादन गरी बजारमा विक्री गर्दै आईरहेको थियो । २०६६ साल देखि सो औषधी उद्योग पूर्ण रुपमा वन्द अवस्थामा रहेको थियो । नेपाल औषधी लिमिटेडले पुन उत्पादन शुरु गरेको जीवन जलको उत्पादन कार्यको उद्योग मन्त्री नवीन्द्रराज जोशीले आईतबार एक कार्यक्रमका वीच शुभारम्भ गरे । 

विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार गुणस्तरिय औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडले नयाँ प्रविधि अनुरुप २७ भन्दा बढि प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरणहरु जडान गरिसकेको छ । स्थापना कालदेखि नै उद्योगको मुख्य उद्धेश्यको रुपमा रहेको प्रतिस्पर्धी बजार मूल्य कायम गर्ने क्रममा आजबाट पुन उत्पादन शुरु भएको जीवनजलको मूल्य हाल बजारमा प्रचलित अन्य ओरल रिहाईड्रेसन साल्ट को प्रचलित मूल्यभन्दा कम राखिएको छ । जसको प्रत्यक्ष फाईदा आम उपभोक्ता वर्गलाई पर्न जाने छ । 

आम जनतालाई सस्तो सुलभ र गुणस्तरीय औषधी प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने मुख्य उद्धेश्यका साथ नेपाल औषधी लिमिटेडलाई पुनर्जीवन दिईएको मन्त्री जोशीले त्यस अवसरमा बताए । उद्योग मन्त्रालय अहिले मुलुकमा औद्योगिक वातावरण निर्माण गरी बढी भन्दा बढी रोजगारी श्रृजना गर्ने दिशामा कृयाशिल रहेको भन्दै मन्त्री जोशीले मुलुकमा उद्योग गर्ने वातावरण छ भन्ने सन्देश निजी क्षेत्रलाई प्रवाह गर्न पनि सरकारले वन्द अवस्थामा रहेका सम्भावना भएका सरकारी उद्योगहरुलाई पुनर्जिवन दिने अभियान संचालन गरेको बताए । 

नेपाली कांग्रेसले सन् ९० को दशकमा शुरु गरेको आर्थिक उदारीकरणको नीतिलाई थप उदारीकण गर्न उद्योग मन्त्रालय अहिले दोस्रो चरणको आर्थिक सुधारमा रहेको मन्त्री जोशीले बताए । यसका लागि उद्योग मन्त्रालयले नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालय र मन्त्रालय अन्तर्गतबाट प्रदान गरिने प्रशासनिक सेवालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने अभियान शुरु गरिसकेको मन्त्री जोशीले बताए । 

उद्योगीहरुको समग्र समस्यालाई उद्योग मन्त्रालयले पूर्ण रुपमा समाधान गर्ने हिसावले मन्त्रालय अघि बढिरहेको भन्दै मन्त्री जोशीले यसको शुरुवात उद्योग विभागमा एकद्धार प्रणालीको स्थापना गरी शुरु गरिसकेको बताए । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरु समेत उत्साहित रहेको आफुले पाएको भन्दै मन्त्री जोशीले अन्तराष्ट्रिय लगानी सम्मेलनमा व्यक्त लगानी सम्वन्धी प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न उद्योग मन्त्रालयले छुट्टै संयन्त्र निर्माण गरेर कार्यान्वयन अगाडी बढाएको बताए ।

उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले नेपाली कांग्रेसले आम उपभोक्ताले सस्तो र सुलभ मूल्यमा गुणस्तरीय औषधी पाउनुपर्छ भन्ने मान्यताका साथ सरकारी स्वामित्वको नेपाल औषधी लिमिटेडलाई पुन संचालनमा ल्याएको बताए । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ